• २७ वैशाख २०८२, शनिबार

समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेको आरोप लगाउनुभयो । महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब स्वार्थहरूको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्छ । त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ ।” 

राजधानीमा आउने जुनसुकै पार्टीका मान्छे भए पनि बुझ्नुपर्ने विषय के हो भने देश जोगाउन, स्वाधीनता बलियो बनाउन एमाले रोज्नुपर्छ उहाँले भन्नुभयो । “हिजो को कहाँ थियो भन्ने कुरालाई अब बिर्सऔं । देश बनाउने हो भने अब राजनीतिक ध्रुवीकरण अपरिहार्य छ” महासचिव पोखरेलले थप्नुभयो, “देश जोगाउने हो भने एमाले चाहिन्छ । एमाले रोज्नु पर्दछ भनेर अभियान चलाउनुस् । देशको स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ । चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौँ, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौंं । चाहे चीनसँग व्यापार, पारवहनको कुरा गरौंं । चाहे भारतसँग नुसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौंं ।” 

अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजको कुराको पनि उहाँले स्मरण गर्न आग्रह गर्नुभयो । एमालेजस्तो अरू कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन नसकेको उहाँको भनाइ छ । त्यो सामर्थ्य एमालेसँग मात्र भएको उहाँको दाबी छ । जनताले विकास र परिवर्तन खोजेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “एमालेले समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको नेतृत्व गर्न चाहेको छ । अहिले यात्रा अवरुद्ध भए पनि आगामी दिनमा जनताले त्यो बाटो खोल्नेछन् । मुलुक बनाउने हो भने आर्थिक–सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनै पर्दछ ।”