काठमाडौं, पुस ७ गते । ‘हरिबहादुर बुढामगर फाउण्डेसन’ ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ ।
कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेसनले सहयोग स्वरूप यस वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाएका ६ जनाको परिवारलाई सहयोग गरेको हो ।
ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमबिच फाउण्डेसनले शनिबार मृतकका परिवारका सदस्यलाई जनही एक/एक लाख रुपियाँ सहयोग गरेको हो । फाउण्डेसनका संस्थापक एवम् अध्यक्ष बुढामगरले मृतकका परिवारलाई सहयोग हस्तान्तरण गर्नुभयो । बुढामगर आफैँ कीर्तिमानी सगरमाथा आरोही हुनुहुन्छ ।
बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नि (घुँडा माथिबाट दुवै अङ्गविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ । सहयोग हस्तान्तरण गर्दै बुढामगरले कुनैपनि व्यक्तिका लागि सगरमाथाको शिखरमा पुग्नुमा पथप्रदर्शक (सेर्पा) हरुको मुख्य भूमिका हुने बताउनु भयो । बुढामगरले सगरमाथा आरोहण गर्नेहरूको सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई हरेक वर्ष सहयोग उपलब्ध गराउने बताउनु भयो ।
सहयोग हस्तान्तरण गर्दै बुढामगरले भने, “कुनै पनि व्यक्तिका लागि सगरमाथाको शिखर चुम्नुहरूको साथमा जानेहरू खासगरी सेर्पाहरूको ठुलो भूमिका हुन्छ । सगरमाथाको सफल आरोहण गरेपछि हामीले उनीहरूलाई बिर्सन्छौँ तर म यो गर्न चाहन्न । हामीले आफ्नो धरातल बिर्सन हुँदैन । मेरो विश्वास छ सगरमाथा आरोहणमा सहयोगी बनेर जाने सबै दाजुभाइ सफल भएर फर्कनुहुनेछ, तर कुनै दुर्घटना भएको अवस्थामा उहाँहरूको परिवारलाई फाउण्डेसनले सहयोग गर्नेछ ।”
अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरसमेत रहनुभएका बुढामगरले सगरमाथा आरोहणपश्चात् सम्मान पाइरहनुभएको छ । बुढामगरले आफू कुनै चर्चाका लागि भन्दा पनि अपाङ्ग सचेतनाका लागि सगरमाथा आरोहण गरेको बताउनु भयो ।