तिलाचन पाण्डे
तम्घास, पुस ७ गते । गुल्मीमा मङ्सिर १ गतेदेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
चुँदाराको शव अर्जुनडाँडाको जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
गत मङ्सिर १ मा घरबाट हिँडेका चुँदाराको खोजी गरिदिन घरपरिवारले प्रहरी र स्थानीयलाई आग्रह गरेका थिए । शवलाई स्थलगत मुचुल्का तयार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मुचुल्का तयार पश्चात् शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । घटना बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।