काठमाडौं, पुस ७ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताउनुभएको छ ।
शनिबार पार्टीको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताउनुभएको हो ।
उहाँले सङ्घीय प्रहरी ऐन, सङ्घीय कर्मचारी ऐन र शिक्षा विधेयक संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताउनुभयो । उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिट्टै सङ्घीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रदेशहरूले झण्डा त पायो, दण्ड पाएन भन्ने कुरा आयो । निश्चित रूपमा झण्डा त पायो प्रदेशमा तर हामी दण्ड नपाउने परिस्थिति अन्त्य गर्दछौँ । छिटै अन्त्य गर्दछौँ । महत्त्वपूर्ण ऐन, कानुन, शिक्षा विधेयक, जसले सङ्घीयता कार्यान्वयनको एउटा पाटो हो, मिनी संसदमा विचाराधीन छ , सङ्घीय कर्मचारी ऐन अर्को पाटो हो भने सङ्घीय प्रहरी ऐन अर्को पाटो हो । हामी छिटो भन्दा छिटो सके छिट्टै संसद् बस्ने भयो भने संसदबाटै यी विधेयक पारित गरेर ल्याउँला, कार्यान्वयन गरौँला । संसद् १५–२० दिन ढिला हुने भयो भने अर्को बाटो पनि हामीले अवलम्बन गर्नसक्छौँ । कानुन लिएर आउने अर्को बाटोमा पनि जानसक्छौँ । जसरी पनि महत्त्वपूर्ण ऐनहरू लिएर आउने हो, कार्यान्वयन गर्ने हो र हाम्रो श्रद्धेय सभापतिले भनेझैँ झण्डा मात्रै बोकेर हिँडेको प्रदेशलाई दण्ड पनि दिइहाल्ने हो ।’’
उपसभापति गुरुङले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो ।