• २४ असार २०८१, सोमबार

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री

blog

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : अर्थमन्त्रीको सचिवालय

काठमाडौं, पुस ७ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताउनुभयो ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत् बजारमा सजिलै पहुँच पुर्‍याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।’’

‘‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरू सहज महसुस गर्छन् । त्यसैले सरकारले आइटी नीति बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ’’ मन्त्री डा. महतले भन्नुभयो, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौँ । र, जसको व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुवात गर्न चाहन्छ, उनीहरूका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’’


राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताउनुभयो । मन्त्री महतका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आइटी नीति अझ सहज हुने जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘नेपाली युवाहरूलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’’

नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘‘अहिले पनि ठुलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ । नेपालभित्रै पनि विभिन्न डमोस्टिक क्षेत्र विकसित हुँदैछ । जसले गर्दा विभिन्न क्षेत्रको बिजनेस व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ । यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ ।’’

उहाँले भन्नुभयो, ‘‘आइटी सेक्टरमा निर्यात बढिरहेको छ, आउँदा दिनमा अझ बढ्छ । यसको संस्थागत विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका हुन्छ । युवा विदेश पलयानलाई रोक्न पनि आइटीलाई प्रवर्द्धन गर्न जरुरी छ ।’’

‘‘झण्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरूलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘१२ कक्षापछि विदेश जाने परम्परालाई रोक्न यही प्लेटफर्ममार्फत् थाल्न अनुरोध गर्दछु ।’’