हरिप्रसाद कोइराला
उर्लाबारी, पुस ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सुशासन र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ खोलिटारमा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) को अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले समृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा सरकारको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तेस्रो पटक देशको प्रधानमन्त्री भएर काम गरेको एक वर्ष पूरा हुन लागेको छ, वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा सम्बोधन गर्दैछु ।”
सम्बोधनमा सबै कुरा उल्लेख हुने बताउँदै उहाँले थप्नुभयो, “म जहिले पनि निरन्तरतामा क्रमभङ्ग गर्दै विकासको खाका प्रस्तुत गर्दैआएको छु ।” पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लैजाने उहाँको प्रतिवद्धता छ ।
सिंहदरबारमा मन्त्रीहरुलाई बोलाएर उहाँहरुको कामको नजिकबाट अध्ययन गर्ने उहाँले चर्चा गर्नुभयो । कतिपय मन्त्रालयका मन्त्रीले सन्तोषजनक काम गरेका छैनन्, त्यस्ता मन्त्रालयका मन्त्रीहरुलाई फेरेर भए पनि कामलाई गति दिने उहाँको भनाइ छ ।
उहाँले पहिचानको विषय र प्रदेश नामकरण विषयमा यहाँका जनताको चिन्ता र चिन्तन आफूलाई राम्रोसँग थाहा भएको बताउँदै यहाँ आन्दोलनरत सबै संस्थाहरु नेताहरुसँग पनि संवाद गरेर सकारात्मक ढंगले यसलाई सामाधान गर्न आफ्नो पहल रहने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको हैसियतले तपाईहरुको समस्याको सम्बोधन गर्दा मलाई विशेष खुशीको महशुस भएको छ । हिजो युद्धकालमा यो स्थान मोरङ जिल्लाको आधारइलाका जस्तो थियो । यहाँको जनताको साथ सहयोग त्याग तपस्या निकै ठूला थियो ।” जनयुद्धकालमा सबै उत्पीडित वर्ग जाति क्षेत्र लिङ्गको पहिचान र अधिकारको लडाइ लड्नुपर्छ भनेर त्यसको नेतृत्व गर्ने पार्टी भएकाले काम गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
उहाँले चुलाचुली, मिक्लाजुङ, लेटाङ सडकका योजना अगाडि बढाउने प्रतिबद्धता जनाउँदै उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो कामलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पथरी शनिश्चरेका सुकुम्वासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उल्लेख गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री दाहाललाई मिक्लाजुङ गाउँपालिकाका कार्यवहाक अध्यक्ष दिनेश पौडेलले ज्ञापनपत्र बुझाउनुभयो ।