रमेश विश्वकर्मा
गुल्मी, पुस ६ गते । गुल्मीको मदाने गाउँपालिका –७, भनभने टिमुरखर्क मोठकी २२ वर्षीय फुलमाया सुनारको गत असार महिनामा दायाँ स्तनमा समस्या आयो । अहिले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उहाँको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको परिवारका सदस्यले बताउनुभएको छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालबाट सुनारको औषधि उपचार गरिएको भए पनि सन्चो नभएपछि उहाँलाई क्यान्सर अस्पताल लगिएको उहाँका बुवा दुजमान सुनारले बताउनुभयो । फुलमायाको उपचारका लागि घर–सम्पत्ति सबै बिक्री गर्दा पनि उपचार खर्च नपुगेपछि सहयोगको आग्रह गरिएको उहाँका बुवा सुनारले बताउनुभयो ।
उहाँको श्रीमान, एक छोरा, ससुरा बुवा र सासुआमा घरमा हुनुहुन्छ । आर्थिक रुपमा कमजोर उहाँको श्रीमान आकाश नेपाली रोजगारीका लागि भारतमा हुनुहुन्थ्यो । श्रीमतीको स्वास्थ्य अवस्था विग्रपछि अहिले उहाँ भरतपुर आउनुभएको छ ।
पुलमायाको उपचारको लागि मदाने गाउँपालिका –६, पुर्कोट दहका वडा सदस्य बसन्त कुँवरले अभियान चलाउनुभएको छ । परिवारको आर्थिक अवस्था दयनीय रहेको हुँदा फुलमायाको उपचारमा सहजता ल्याउन अभियान चलाइएको उहाँले बताउनुभयो ।
आर्थिक सहयोग संकलनका लागि फुलमायाको छिमेकी शारदा थापा बोहोराको नाममा रहेको कृषि विकास बैंक पुर्कोट दह शाखाको खाता शुन्य बनाइ सो खातामा रकम जम्मा गर्ने अभियान चलाइएको उहाँले बताउनुभयो । उक्त बैंकको खाता ०४२५४०१३७६९८६०१० मा आर्थिक सहयोग जम्मा गरिदिन अभियानकर्ता कुँवरले आग्रह गर्नुभएको छ ।