• २४ असार २०८१, सोमबार

पूर्व सहकारी रजिष्ट्रार पराजुलीविरुद्ध पक्राउ पूर्जी

blog

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली ।

फडिन्द्र अधिकारी

लेखनाथ (पोखरा), पुस ६ गते । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएपछि उहाँ सम्पर्कबाहिर हुनुहुन्छ । पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको र उहाँको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । 

कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उहाँ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार हुनुहुन्थ्यो । सोही अवधिमा मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकको बयानमा खुलेको र छानबिनका क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको छ । मित्रमिलन सहकारीको रकम अपचलन अभियोगमा अहिलेसम्म पाँच जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित केही व्यक्ति अझै फरार छन् । 

फरारहरुको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । मित्रमिलन सहकारीको सातसय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका छन् । उनीहरुको दाबी २० करोड हाराहारीको छ । 

कास्की प्रहरीले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी र इमेज सहकारीको रकम हिनामिनाविरुद्ध पनि अनुसन्धान गरिरहेको छ । इमेजका पूर्वअध्यक्ष जिबी राईलगायत र इमेजका संस्थापक अध्यक्ष देवबहादुर नेपालीलगायत अहिले फरार छन् । 

सहकारीहरुले बचतकर्ताको रकम हिनामिना गरी फरार हुने क्रम बढ्दा अरु सहकारीले पनि बजारमा विश्वासको सङ्कट झेल्नुपरेको सहकारीकर्मीहरु बताउँछन् ।