• २४ असार २०८१, सोमबार

स्थानीय र प्रहरीबीच झडप : प्रहरीको गोली लागि दुई घाइते

blog

गोरखापत्र अनलाइन

धनुषा, पुस ६ गते । धनुषाको हंसपुर नगरपालिका –५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागि दुई जना घाइते भएका छन् ।

स्थानीयको कुटाइले घाइते भएका व्यक्तिको प्रहरीको थप कुटाइबाट निधन भएपछि आक्रोशित स्थानीयहरु प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । सोक्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा भीडलाई हटाउन प्रहरीले गरेको हवाइ फायरको क्रममा दुई जनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शङ्कर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको छ । प्रहरीको गोली लागेर दुई जनासहित झडपमा परी तीनजना घाइते भएको स्थानीयले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीउपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्णरुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादको क्रममा पकाउ गरी इलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाइबाट मण्डलको संवेदनशील अङ्गमा चोट लागेको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको स्थानीयले जनाएको छ । घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको गोली लागि घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग स्थानीयको छ ।