• २४ असार २०८१, सोमबार

विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ,  पुस ६ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताउनुभएको छ । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताउनु भयो ।

उहाँले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनु भयो । सभामुख देवराज घिमिरेले  देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो । उहाँले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताउनु भयो ।

सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘अहिले एउटा ट्रेन के बढीरहेको छ भने विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि कसरी छिटो त्यसलाई खर्च गर्न सकिन्छ ? त्यो ढंगबाट गइरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो की होइन, यसको बारेमा इनालाइसिस गर्ने, त्यसलाई सिस्टममा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्व के छ भन्नेबारेमा धेरै बहस छलफलले हुँदैन । त्यसैले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा यी कुराहरु पुग्नुपर्छ । पहुँचमा पुराउने तरिकाहरु के हो भने संसद हो र जनताबाट छानिएका सांसदहरु हुन् । आज देशमा भइरहेको आर्थिक उन्नतिलाई अथवा देशको विकास गर्नलाई वैदेशिक संघ संस्थाहरुमार्फत, राष्ट्रहरुमार्फत कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदहरुले त्यसको प्रयोग कहाँ र कुन क्षेत्रमा कसरी गर्नुपर्छ भन्ने बजेट वा नीतिअन्तर्गत छलफल गरिसकेपछि त्यो कार्यान्वयनमा कसरी गइरहेको छ ? मनिटरिङ गर्ने कुराहरुमा संसद प्रभावकारी हुनुपर्छ । त्यो अहिलेको प्रणालीअन्तर्गत संसदीय समितिहरु नै यसको मनिटरिङ गर्ने मुख्य साधनहरु हुन् । उनीहरुले हरेक ठाउँमा कसरी प्रयोग भयो, कुन समयमा आयो ? समयभन्दा ढिलो किन भयो ? समयभित्रै ल्याएर किन प्रयोग गर्न सकिएन ? यी कुराहरुको बारेमा संसदीय समितिहरु प्रभावकारी ढंगबाट यसको मनिटरिङ गर्ने भूमिकामा रहन पुगे भने उनीहरुमार्फत जनताको बीचमा ती कुराहरु पुग्न सक्छन् । त्यसको जानकारी भइसकेपछि मात्रै त्यसको सही सदुपयोग हुन्छ । एयरपोर्टहरु बनाउने बारेमा हामीले सफलता पाएका छौँ तर त्यसलाई सञ्चालन गर्ने कुरामा हाम्रो ध्यान पुगेको छैन ।’