• १२ मंसिर २०८१, बुधबार

हेटौँडा अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु

blog

अनिल पराजुली

हेटौँडा, पुस ६ गते ।  हेटौँडा अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो । 

स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको हेटौँडा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।

त्यस्तै एक पटक रेफर भई आएका सेवाग्रहीलाई सोही रोगको फलोअप गर्दा पुनः रेफर नचाहिने व्यवस्था समेत मिलाइएको उहाँले बताउनुभयो । ११० शय्याको क्षमतामा काम गर्दै आएको हेटौँडा अस्पतालले हाल दैनिक एक हजार सय बढी सेवाग्राहीलाई सेवा दिदै आएको हेटौँडा अस्पताल विकास समिति सदस्य उत्सव चौलागाईंले जानकारी दिनुभयो । ६२ जना डाक्टर मार्फत बालरोग, हाडजोर्नी, नसा, नाक, कान, घाँटी, छाला, न्युरो, डेण्टल, गाइनो, होमियोप्याथिक, जनरल फिजिसियन सेवा दिंदै आएको छ ।