जनकपुरधाम समाचारदाता
जनकपुरधाम, पुस ६ गते । जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन करिब १० वर्षदेखि सुरु गरिएको अभियानले अझै सफलता पाएको छैन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले भने विश्व सम्पदाको पर्खाइमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदास्थलका रूपमा सूचीकृत गराउने कार्यको अपनत्व लिइसकेको जानकारी दिनुभएको छ ।
गत मङ्सिरमा काठमाडौँस्थित युनेस्को, पुरातत्त्व विभाग, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफलसमेत भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “चाँडै नै युनेस्को टोली जनकपुरधाम आउने छ । हामी यसलाई अभियानका रूपमा लैजाने छौँ ।”
हजारौँ वर्षको इतिहास बोकेसँगै मिथिला सभ्यता र सस्कृतिसँग जोडिएको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराई यहाँको संस्कृति र सभ्यतालाई जोडिराख्न पनि जानकी मन्दिरलाई विश्व सम्पदामा राख्नुपर्ने उपमहानगरपालिकाद्वारा बनाइएको समितिका सदस्य एवं नेपाल सरकार परराष्ट्र सेवाका पूर्वकर्मचारी रामबाबु ढकाल बताउनुहुन्छ । विश्व सम्पदा महासन्धिमा उल्लेख गरिएका क्षेत्र जानकी मन्दिरसँग मेल खाएका कारण यसलाई विश्व सम्पदामा राख्न पहल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जानकी मन्दिरको निर्माण टिकमगढकी महारानीले गराए पनि मन्दिर निर्माण हुनुअघि त्यस स्थानमा सीतारामको पूजा गर्ने गरिन्थ्यो; जुन रामायणमा आधारित छ । विशिष्ट महत्त्व बोकेको यो मन्दिरले मिथिला संस्कृतिलाई जीवन्त राखेको छ ।” जीवन्त संस्कृतिलाई संवर्धन गर्न पनि जानकी मन्दिर विश्व सम्पदा सूचीमा राखिनुपर्ने भनाइ ढकालको छ ।
विगतमा पहल भए पनि स्थानीय सरकारमा फेरिएका जनप्रतिनिधि तथा सरोकारवाला निकायले चासो नदेखाउँदा जानकी मन्दिर विश्व सम्पदाबाट ओझेलमा परेको समितिका सदस्य नवलकिशोर यादवले बताउनुभयो । उपमहानगरपालिकाले जानकी मन्दिरलाई विश्व सम्पदामा लैजाने पहलमा उहाँ सुरुदेखि लाग्नु्भएको छ । उहाँ भन्नुहुन्छ, “जानकी मन्दिर नेपालको सांस्कृतिक धरोहर भएका कारण यसलाई विश्व सम्पदा सूचीमा लैजानु पर्छ ।”
जानकी मन्दिर विश्व सम्पदा सूचीमा प-यो भने युनेस्कोले कोर्ने मानचित्रमा जानकी मन्दिर पनि समावेश हुन्छ र पर्यटकको रोजाइमा जनकपुरधाम पनि समावेश हुन्छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विगतमा भएका पहलबारे जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता परमेश्वरकुमार झाले भन्नुभयो, “जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान एक व्यक्तिले पहल गरेर हुँदैन; स्थानीय जनता, सरोकारवाला र तीनै तहको सरकार सक्रिय भएर लाग्नु पर्छ ।” उहाँले यसअघि पनि जनकपुरधामका पूर्वनगर प्रमुख लालकिशोर साहले २०७४ सालदेखि केही पहल गर्नुभएको जानकारी दिनुभयो । “उपमहानगरपालिकाको पहलमा युनेस्कोका प्रतिनिधि र पुरातत्त्व विभागका प्रतिनिधिसँग समिति बनाएर अगाडि बढाउने कुरा पनि भएकोे थियो । त्यति बेला कैयौँ पटक छलफल पनि भयो । बैठकसमेत बसियो । पुरातत्त्व विभाग आएर नक्साङ्कन गर्नसमेत लगायो । त्यस अनुसार जानकी मन्दिरलाई केन्द्रमा राखेर नक्साङ्कन गरी चार किल्ला तोकियो । यी सबै प्रव्रिmया पूरा गरेर पुरातŒव विभागमा पठाइएको छ । विभागका एक पदाधिकारी आएर हेरेर पनि जानुभयो तर युनेस्कोमा लैजाने प्रक्रिया नै लामो भएका कारण समय लागेको हो,” उहाँले भन्न्भयो ।
जानकी मन्दिरलाई युनेस्कोमा सूचीकृत गराउन कुनै व्यक्ति वा संस्थाले पहल गरेर मात्र नहुने हुँदा यसलाई स्थानीयस्तरबाटै पहल गरेर लैजानुपर्ने प्रवक्ता झाले बताउनुभयो । प्रवक्ता झा जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने समितिमा पनि हुनुहुन्छ । उहाँले भन्नुभयो, “युनेस्कोमा सूचीकृत गर्न प्रोफाइल नै ठुलो तयार पार्नु पर्छ । आधारभूत कुराहरू गर्दै गइरहेका छौँ । उपमहानगरपालिकाले राखेको कन्सल्टेन्टले युनेस्कोमा सूचीकृत गर्ने मापदण्डसहितको दस्ताबेज तयार पारी युनेस्कोमा पठाउनु पर्छ ।”
यस पटक नेपाल सरकारको नीति तथा कार्यक्रममा पनि जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीमा लैजाने विषय परेको छ । करिब १० वर्षअघि भोर नामक संस्थाका अध्यक्ष राजकुमार महतोले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लैजाने विषयलाई अगाडि बढाउँदै लाखौँको हस्ताक्षर सङ्कलन गर्नुभएको थियो । त्यसबारे पुरातत्त्व विभागका पदाधिकारीसँग पनि छलफल भएको थियो ।