• १३ असोज २०८१, आइतबार

हुम्लाबाट स्याउ निकासी

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस ६ गते । पहिलो पटक ढुवानी अनुदानमा जिल्लाबाट स्याउ बाहिर ढुवानी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले ढुवानी अनुदानमा किसानको स्याउ जिल्लाबाहिर पठाएको छ । 

चार सय बोट स्याउ लगाएका सिमकोट गाउँपालिका–२ का किसान गोरसिंह बोहराले आफ्नो स्याउ फार्ममा उत्पादन भएका स्याउ नेपालगन्ज हुँदै काठमाडौँ ढुवानी सुरु भएको बताउनुभयो । 

उहाँले एक हजार तीन सय केजी स्याउ पठाउन लागेकामा चार सय केजी हवाई मार्गबाट पठाइसकेको र बाँकी पठाउनका लागि कार्टोनमा प्याक गरेर सिमकोट विमानस्थलमा तयारी अवस्थामा राखिएको बताउनुभयो । 

त्यसै गरी सिमकोट गाउँपालिका–३ का किसान कार्बु लामाले पनि एक हजार तीन सय केजी स्याउ जिल्लाबाहिर पठाउने तयारी गरेको बताउनुभयो । उहाँले एक/दुई पटकमा स्याउ हवाई मार्गबाट पठाउने तयारी गरिरहनुभएको छ । उहाँले सबै स्याउ प्याक गरेर सिमकोटस्थित चिस्यान गृहमा राखेको र अब एक/दुई दिनमा पठाउने बताउनुभयो ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ) का कार्यालय प्रमुख लक्ष्मी अधिकारीले यस वर्ष पहिलो पटक ७५ प्रतिशत ढुवानी अनुदानमा २० मेट्रिक टन स्याउ जिल्लाबाहिर पठाउन सुरु गरिएको बताउनुभयो । 

सिमकोटबाट नेपालगन्जको ढुवानी दर प्रतिकेजी ६० रुपियाँ पर्छ । त्यसमा ४५ रुपियाँ परियोजनाले अनुदान दिने र प्रतिकेजी १५ रुपियाँ किसान आफैँले ढुवानी तिर्नुपर्ने छ । किसानले उत्पादन गरेको स्याउको बजारीकरणका लागि यो ढुवानी अनुदानको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । यसका लागि परियोजनाले १० लाख रुपियाँ लगानी गर्ने छ ।