काठमाडौँ, पुस ६ गते । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबिच व्यापार र लगानी अभिवृद्धि गर्ने, बढ्दो हावा जडान, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिम्स्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोगसहितका बहुपक्षीय मञ्चमा सहकार्यका लागि दुई पक्षीय साझेदारीलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबिचको विकास साझेदारीको समीक्षा गर्दै सहकार्यका क्षेत्रहरूको प्रगति सन्तोषजनक रहेको भन्दै दुवै नेतृत्वले त्यसको सराहना गरेको छ । काठमाडौँ–कोलम्बो हवाई सम्पर्कको सुरुवात उत्साहजनक रहनुका साथै कोलम्बो र लुम्बिनीबिच सीधा हवाई सम्पर्कको सम्भावनाबारे छलफल भएको छ । श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावना र उपायका बारेमा दुई मन्त्रीले परामर्श गर्नुभयो ।