• १७ असार २०८१, सोमबार

शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

blog

गजेन्द्र गुरुङ

खजुरा, पुस ५ गते । गरिब तथा विपन्न वर्गका नागरिकको अन्त्येष्टि गर्न शमशान घाटमा निःशुल्क दाउरा वितरण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित शमशान घाटमा गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु पश्चात् गरिने अन्त्येष्टिका लागि ११ नम्बर वडा कार्यालयको तर्फबाट निःशुल्क दाउरा प्रदान गरिएको ११ नम्बर वडाका अध्यक्ष नन्दकिशोर कश्यपले जानकारी दिनुभयो ।

मृतक व्यक्तिको शव दहन गरी अन्त्येष्टि गर्नका लागि आवश्यक पर्ने दाउरा वडा कार्यालयको तर्फबाट शमशान घाटलाई निःशुल्क उपलब्ध गराइएको अध्यक्ष कश्यपले जानकारी दिनुभयो । उहाँका अनुसार शमशान घाटलाई तीन चट्टा दाउरा निःशुल्क प्रदान गरिएको हो ।

हुनेखाने तथा धनी व्यक्तिहरूको मृत्यु पश्चात् अन्त्येष्टि गर्नका लागि शव गाडीमा राखेर राप्ती नदीस्थित सिधनिया घाट र अगैया घाटसम्म पुर्‍याउने गर्दछन् तर गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु हुँदा अन्त्येष्टि गर्नका लागि आर्थिक रूपले टाढा लग्न सक्दैनन् । उनीहरूको बाध्यतालाई मध्यनजर गर्दै सहज होस् भनेर नेपालगन्जमै रहेको शमशान घाटमा शव अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु भएपछि अन्त्येष्टिका लागि नेपालगन्जमै रहेको शमशान घाट प्रयोग गरिन्छ । त्यसैगरी, विभिन्न पहाडी तथा तराईका जिल्लाबाट नेपालगन्जका अस्पतालहरूमा उपचार हुने व्यक्तिको मृत्यु भयो भने शव घरसम्म लैजान नसक्ने विपन्न नागरीहरूले पनि यहाँ रहेको शमशान घाट प्रयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

मृत्यु पश्चात् शव अन्त्येष्टिका लागि टाढा लैजान नसक्ने गरिब तथा विपन्न नागरिकको शव दहन गर्न सहज होस भनेर वडाले शमशान घाटलाई निःशुल्क रूपमा दाउराको व्यवस्थापन गरिदिएको वडाध्यक्ष कश्यपले जानकारी दिनुभयो ।