• १५ मंसिर २०८१, शनिबार

सकियो बन्ध्याकरण घुम्ती शिविर

blog

खजुरा समाचारदाता 

खजुरा, पुस ५ गते  । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा लक्ष्यभन्दा बढी नागरिकले सेवा लिएका छन् ।

गत मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको घुम्ती शिविर सोमबारबाट सकिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो । शिविरमा लक्ष्य गरिएको भन्दा बढी नागरिकले सेवा लिएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा १२५ जना नागरिक सहभागी भई सेवा लिएको श्रेष्ठले बताउनुभयो । 

नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको भवनमा राखिएको शिविरमा १३ जना महिला र दुई जना पुरुष गरी १५ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको छ ।

यसअघि गङ्गापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा तीन पुरुष र आठ महिला गरी ११ जना, राप्तीसोनारी–६, कमैयाडाँडामा सञ्चालन गरिएको शिविरमा एक पुरुष र १५ महिला गरी १६ जना, राप्तीसोनारी–४ स्थित राप्तीसोनारी अस्पताल बैजापुरमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १४ जना महिला गरी १५ जना नागरिकले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसै गरी डुडुवा–२, बेतहनी स्वास्थ्य चौकीको शिविरमा सात जना महिला, कोहलपुर नगर अस्पतालको शिविरमा दुई पुरुष र १८ महिला गरी २० जना र वैजनाथ गाउँपालिकाको नौबस्ता स्वास्थ्य चौकीको शिविरमा पाँच महिला र दुई पुरुष गरी सात जना छन् । 

खजुरा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १८ महिला र एक पुरुष गरी १९ जना र जानकी गाउँपालिकाको बेलभार स्वास्थ्य चौकीमा सञ्चालन गरिएको घुम्ती शिविरमा १५ जना महिला गरी कुल १२५ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । 

सूचना अधिकारी श्रेष्ठका अनुसार स्थायी बन्ध्याकरण सेवा लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या उल्लेख्य रहेको छ । सेवा लिएका १२५ जनामध्ये ११३ जना महिलाले बन्ध्याकरणको सेवा लिनुभएको छ ।