अमरराज नहर्की
तनहुँ, पुस ५ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन अन्तर्गत पूर्वी खण्डका दुवैतर्फ कालोपत्रे सुरु भएको छ। यातायात आवागमनलाई सहज बनाउन दुवैतर्फ कालोपत्रे सुरु भएको पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवले जानकारी दिनुभयो। दुई लेन रहेको राजमार्ग विस्तार गरी हाल चार लेन बनिरहेको छ। एकतर्फी दुई लेनको कालोपत्रे गरिएकोमा दुवैतर्फी कालोपत्रे गर्न सुरु गरिएको हो।
हालसम्म साढे १२ किलोमिटर कालोपत्रे सम्पन्न भएको र त्यस अन्तर्गत दुई किलोमिटर दुईतर्फी कालोपत्रे भइसकेको यादवले जानकारी दिनुभयो। एक साताभित्र थप तीन किलोमिटर गरी १५ किलोमिटर कालोपत्रे पूरा हुने गरी काम भइरहेको यादवले जानकारी दिनुभयो।
आँबुखैरेनी गाउँपालिका चोक, आँबुखैरेनी बजारदेखि मार्कीचोकसम्मको साढे चार किलोमिटर दुरीमा कालोपत्रे कार्य अन्तिम चरणमा छ। आँबुखैरेनी गाउँपालिकाको ढकालटार क्षेत्रमा दुईतर्फी कालोपत्रेको काम भइरहेको उहाँले जानकारी दिनुभयो। गाउँपालिका चोकबाट सुरु गरी ढकालटार हुँदै गत असार महिनामा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्रे कार्य भइरहेको र अन्तिम चरणमा पुगेको यादवले बताउनुभयो ।
जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दुरी एकतर्फी कालोपत्रे कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्न दिइएको छ। बन्दीपुर–१, नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दुरीमा अस्फाल्ट प्रविधिको कालोपत्रे कार्य सम्पन्न भएको यादवले जानकारी दिनुभयो। यातायात आवागमनलाई सहजताका लागि दुई लेनलाई आलोपालो कालोपत्रे गरिने यादवले जानकारी दिनुभयो। चिनियाँ र नेपाली दुवै कामदारबाट काम भइरहेको यादवले बताउनुभयो। यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम तीव्र रूपमा भइरहेको यादवले बताउनुभयो । यादवले भन्नुभयो, “हालसम्म ४४ प्रतिशत काम पूरा भएको छ, यात्रुलाई यात्रा गर्न सहज होस् भनेर कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको छ ।”
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ साल वैशाखसम्म छ। तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुने छ। दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्रदेखि कास्कीको गगनगौँडाबाट सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ।
पश्चिम खण्डको काम भने निकै सुस्त छ। पश्चिम खण्डका प्रमुख राजेश पौडेलले यस खण्डको हालसम्म १२ प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो। पहिला काम सुस्त भए पनि हाल यस खण्डमा काम तीव्र पार्न थालिएको पौडेल बताउनुहुन्छ। रातमा समेत काम गरेर तीव्रता दिइएको पौडेलले बताउनुभयो। पुल निर्माणलगायतको कामका लागि ४० जना कामदारले रातको समयमा समेत काम गरिएको पौडेलले बताउनुभयो।