• २७ वैशाख २०८२, शनिबार

सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

blog

सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष विश्वास कार्की ।

सुजन काफ्ले 

चरीकोट, पुष ४ गते । गौरीशङ्कर गाउँपालिकाका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाले गौरीशङ्कर गाउँपालिकाका सुकुम्बासीलाई निस्सा वितरण गरेको हो । 

गाउँपालिकाको वडा नम्बर ३, ६, ७ र ८ मा बसोवास गरिरहेका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको भूमि आयोग जिल्ला समिति दोलखाले जनाएको छ । गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललितबहादुर मगर, नापी कार्यालय दोलखाका प्रमुख सिर्जना कटुवालको उपस्तिथिमा ४७ जना भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये हालसम्म भीमेश्वर नगरपालिकाका २७ र गौरीशङ्कर गाउँपालिकाका ४७ जनालाई निस्सा प्रदान गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललितबहादुर मगरले बताउनुभयो । विभिन्न कागजपत्र र तिनपुस्ते विवरण भर्न छुटेका लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरेर चाँडै निस्सा वितरण गरिने र निस्सा पाएकाहरुलाई छिट्टै लालपुर्जा वितरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीले लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै लालपुर्जा प्राप्त गर्ने बाटो खुलेकोले पुर्जा प्राप्तिका लागि सहजीकरण हुने बताउनुभयो।

नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेकाले लामो समयदेखि भूमिहीन गाउँपालिकाबासीलाई भूमि दिने प्रक्रिया अघि बढाइएको अध्यक्ष कार्कीले बताउनुभयो । वर्षौंदेखि भूमिहीन बनेका गौरीशङ्कर गाउँपालिकाका स्थानीयहरु भूमि पाउने भएपछि खुसी भएका छन् । 

भूमि आयोग जिल्ला समिति दोलखाले बाँकी रहेका ७ वटा स्थानीय तहको लगत सङ्कलनको काम सकिसकेको छ ।