• १२ मंसिर २०८१, बुधबार

गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवा सञ्चालनको तयारी

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस ४ गते । गुल्मी अस्पताल तम्घासमा हेमोडायलाइसिस सेवा सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला अस्पताल गुल्मीमा अहिलेसम्म यो सेवा थिएन । सेवा लिन सेवाग्राहीहरू बाहिर जानुपर्ने अवस्था थियो । अब जिल्ला अस्पतालमा यो सेवा सञ्चालनमा आउन लागेको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा।किशोर बन्जाडेले बताउनुभयो ।

अस्पतालले एक सूचना प्रकाशित गरी अस्पतालमा हेमोडायलाइसिस सेवा सञ्चालनमा आउने भएकाले यस अस्पतालबाट डायलाइसिस सेवा लिन इच्छुक सेवाग्राहीहरूले अस्पताल प्रशासनमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । अस्पतालले अन्यत्र सेवा लिई रहनुभएका सेवाग्राहीहरूले यस अस्पतालमा सम्पर्कमा आएपनि सेवा लिई रहेको केन्द्रमा नाम नहटाउन आग्रह गरेको छ । जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै सो सेवा गुल्मी अस्पतालबाट नै सेवा लिन सकिने डा.बन्जाडेले बताउनुभयो ।

हेमोडायलाइसिस सेवाले गुल्मीको समुन्नतिमा एउटा इट्टा थप भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । जिल्लामै हेमोडायलाइसिस सेवा सुरु भएसँगै दुःखी र गरिब नागरिक सबैभन्दा धेरै लाभान्वित हुनुहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आफू निर्वाचित भएपछि रेसुङ्गा नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट गुल्मी तम्घासमै मिर्गौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको स्मरण गराउँदै निरन्तरको खटाई र पहलबाट आज सो निर्णय कार्यान्वयन हुने अवस्थामा पुगेको बताउनुभयो । गुल्मी जस्तो दूर-दराजको ग्रामीण भूभागका जनताले यो सेवाको अभावमा धेरै कष्ट बेहोर्नुपरेको भन्दै सहजताका लागि जिल्लामै यस्तो निर्णय लिएको उहाँले बताउनुभयो ।