राममणि दाहाल
हेटौँडा, पुस ४ गते । हेटौँडा उपमहानगरपालिका–१९ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हेटौँडा–१९ ज्यामिरेस्थित सहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो ।
बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भ जाँचसम्बन्धी सामान्य स्वास्थ्य सुविधाबाट वञ्चित स्थानीय महिलाले सेवा पाउने भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरको सहयोगमा सुत्केरी गराउनका लागि आवश्यक सामग्री जडान गरिएपछि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।
बर्थिङ सेन्टरको उद्घाटन गर्दै नगरप्रमुख लामाले महिलाहरुमा हुने पाठेघर र स्तनसम्बन्धी समस्यालाई लुकाउने बानीमा सुधार आवश्यक भएको बताउनुभयो । हेटौँडा उपमहानगरपालिका १९ का वडाध्यक्ष नरनाथ सुवेदीले बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय गर्भवती महिलाले प्रसूति सेवा लिनका लागि हेटौँडा बजारसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
सहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश बर्तौलाले केन्द्रमा बर्थिङ सेन्टरमा नियमित रुपमा गर्भ परीक्षण, सुत्केरी जाँच र प्रसूति सेवा उपलब्ध हुने बताउनुभयो । सोही अवसरमा सहरी स्वास्थ्य केन्द्रको संयोजन र १९ नम्बर वडा कार्यालयको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय २८ जनाले सेवा लिएका छन् ।