• १५ मंसिर २०८१, शनिबार

प्रयोगमा आउँदै फोहोर व्यवस्थापन केन्द्र

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, पुस ४ गते । गाउँपालिकाको फोहोर व्यवस्थान गर्ने गरी निर्माण गरिएको अर्जुनचौपारी फोहोर व्यवस्थापन केन्द्र प्रयोगमा ल्याउने तयारी गरिएको छ । निर्माण सकेको साढे दुई वर्षपछि प्रयोगको तयारी गरिएको हो । 

मुख्य बजार अर्जुनचौपारी–१ बजारको फोहोर खोलामा फालेर प्रदूषित भएपछि व्यवस्थापनका लागि वडा नं.–३ को घट्टेमा केन्द्र निर्माण गरिएको थियो । पालिकाले यहाँ रहेका सार्वजनिक र केही जग्गा चार लाखमा खरिद गरेर निर्माण गरिएको व्यवस्थापन केन्द्र सम्पन्न भएको साढे दुई वर्षसम्म प्रयोगमा नआएको हो । 

पालिका अध्यक्ष प्रकाश तिवारीले निर्माणको लामो समयसम्म प्रयोगमा नल्याउँदा राज्यको लाखौँ रुपियाँ त्यसै खेर जाने देखेपछि पालिकाले प्रयोगमा ल्याउने तयारी गरेको बताउनुभयो । 

बजारको फोहोर तीन किलोमिटर उल्टो बाटो प्रशोधन केन्द्रमा लैजानुपर्ने बताउँदै तिवारीले फोहोर छ्ट्याएर फेरि बोकेर ल्याउँदा लाखौँ रुपियाँ दोहोरो खर्चमा जाने हुनाले प्रशोधन गर्ने तयारीमा रहेको बताउनुभयो । नकुहिने सिसा, फलाम र प्लास्टिकलाई फरक फरक गरेर छुट्याउन लगाएर पालिकाले प्रशोधन केन्द्रमार्फत बेचिने बताउनुभयो । व्यर्थमा राज्यको लाखौँ रुपियाँ गलत ठाउँमा प्रयोग भएको बताउँदै तिवारीले बाध्य भएर सोही ठाउँमा फोहोर व्यवस्थापन गर्नु परेको बताउनुभयो । 

२०७६ माघ ७ गते सागर कन्स्ट्रक्सनले ४६ लाख ९५ हजार ७२१ रुपियाँमा सम्झौता गरेर डेढ वर्षमा निर्माण सकेको थियो भने व्यवस्थापन केन्द्र निर्माण सक्न समग्रमा कुल ५१ लाख रुपियाँ खर्च भएको छ । 

फोहोर व्यवस्थापन केन्द्र कुहिनेलाई मल बनाउने र नकुहिने (फलाम, सिसा र प्लास्टिक) छुट्याउने गरी निर्माण गरिएको हो । गाउँपालिकाले २७ मिटर लम्बाइ र नौ मिटर चौडाइको व्यवस्थापन केन्द्र फलामको बिम गाडेर इँटा, सिमेन्ट र जस्तापाताको माध्यमबाट साइड बारेर जस्तापाताले नै छाएर भवन र सौचालय निर्माण गरिएको छ ।