काठमाडौँ, पुस ३ गते । भ्याली पब्लिकले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मङ्गलबार भएको प्रतिस्पर्धामा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलाई ७२–५० ले हरायो ।
भ्याली पब्लिकको जितमा प्रवीण गुरुङले २५ अङ्क जोड्नुभयो । महिलामा सन्ध्या डंगोलको १४ अङ्क सहयोगमा आईएएस नेपालले भ्याली पब्लिकलाई ५०–२३ ले हरायो । महिलाकैअर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले गोल्डेनगेटलाई पन्छायो ।
पुरुषको अन्य खेलमा स्नोल्यान्ड, रोयल र ग्रिनफिल्डले जित हात पारे । स्नोल्यान्डले हाउन्ड्सलाई ४४–३६ ले पन्छायो । रोयलले जेभियरमाथि ६८–४५ को जित रच्यो । टाइमआउट विरुद्धको प्रतिस्पर्धामा ग्रिनफिल्ड ७१–६१ ले विजयी भयो ।
पुस १० गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा २० तथा महिलामा पाँच टिमले भाग लिएका छन् । दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपियाँ पुरस्कार पाउने छन् । पुरुष/महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।