• १२ साउन २०८१, शनिबार

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

blog

कराते प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौंँ, पुस ३ गते । नेपाल सितोरियो कराते सङ्घ जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब) गरी १० टिमका २ सय १० खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन् ।

एकल र टिम कातासहित पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धमा खेल हुनेछ । टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । पुरुष÷महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार रुपियाँबाट पुरस्कृत गरिने छ ।

आयोजक र गोदावरी नगरपालिकाबिच ४ संस्करण प्रायोजन गर्ने पूर्व सहमति बमोजिम तेस्रो संस्करणका लागि पनि मङ्गलबार नै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख रुपियाँ सहयोग गर्ने छ ।

आयोजकका अनुसार सातदोबाटोस्थित कराते हलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपियाँ खर्च हुनेछ । प्रतियोगिताका परिकल्पनकार एवं बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले प्रतियोगिता नेपालकै स्तरीय प्रतियोगिता मध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको बताउँदै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी ऐतिहासिक रजत विजेता) जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङलगायतको उपस्थिति रहेको थियो ।