• १३ असोज २०८१, आइतबार

बुद्धिचालमा विश्वस्तरीय खेलाडीसँग नेपाल पराजित

blog

चीन (साङ्डोङ प्रदेश), पुस ३ गते । चाइना चेस सङ्घको आमन्त्रणमा आठ राष्ट्र सम्मिलित साङ्घे होल्डिङ्ग कप पाँचौँ एससिओ अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता चीनको साङ्डोङ प्रदेशमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा चीनका तिन टिम सहित नेपाल, मङ्गोलिया, इरान, किर्गिस्तान, काजकिस्तान, ताजिकिस्तान र रसिया देशका सुपर जिएम सहित विश्व स्तरीय खेलाडीको सहभागी रहेको थियो । नौ चरणको खेलअन्तर्गत तेस्रो चरणको खेलमा नेपालका १९२६ रेटेड सिएम कृष्ण थापाले २१औँ विश्व वरियताका २७४४ रेटेड चाइनिज सुपर जिएम वीई र सातौँ चरणको खेलमा ३२औँ विश्व वरीयताका २७१२ रेटेड रसियन खेलाडी सुपर जिएम ड्यानियल डुबोभसँग प्रतिस्पर्धा गर्ने मौका प्राप्त गर्नुभएको थियो । 

थापाले आफूभन्दा उच्च खेलाडीहरू चार जिएम, एक आईएम र दुई एफएमसँगको खेलमध्ये ताजकिस्तानका २२७६ रेटेड आईएम मोहम्मद खुसेन खोजेभलाई  बराबरीमा रोक्न सफल हुनु भएका थियो । अर्का नेपाली खेलाडी १९९२ रेटेड सिएम मिलन लामाले पनि ३५औँ विश्व बरीयताका २७१० रेटड सुपर जिएम वाङ् युएईसँग प्रतिस्पर्धा गर्ने मौका पाउनुभएको थियो ।

लामाले उच्च खेलको प्रदर्शन गर्ने क्रममा मङ्गोलियाका २३४० रेटेड एफएम अमिलाल मुंखदालिलसँग बराबरी र काजकिस्तानका २१८९ रेटेड सिएम आसिलोभ मिरास र ताजिस्कास्तानका २१५८ रेटेड एफएम कारिमोभ अलिशेरलाई पराजित गर्न सफल हुनुभयो । 

नेपालकी १५०३ रेटेड महिला खेलाडी कृतिसरा अधिकारीले पनि बोर्ड च्याम्पियनसिपका दाबेदारी उच्च वरियता प्राप्त चाइनाकी २५२८ रेटेड जिएम तान जोङ्गयी लगायतका डब्लू जिएम, आईएम, डब्लू आईएम,डब्लू एफएमहरुका बिच उच्चस्तरीय खेलको अनुभव बटुल्ने मौका पाउनुभयो ।

अन्तर्राष्ट्रिय आमन्त्रित प्रतियोगितामा नेपाल बुद्धिचाल महासङ्घका कावा अध्यक्ष हिराकाजी महर्जनको नेतृत्वमा दुई पुरुष र एक महिला खेलाडीले सहभागी जनाएका थिए । यस प्रतियोगिताका विजेता रसियान टिमले ८० हजार युयान, उपविजेता चाइनाले ६० हजार युयान र तेस्रो स्थानका मङ्गोलियाले ४० हजार युयान पुरस्कार जित्न सफल भएको छ ।