• १३ असार २०८१, बिहिबार

एन्फामा तुलाधरलाई सिइओ नमान्ने असन्तुष्ट पक्षको धारणा

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै एन्फाका असन्तुष्ट पदाधिकारी ।

काठमाडौँ, पुस ३ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को असन्तुष्ट पदाधिकारीले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नमान्ने धारणा राखेका छन् ।

मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फाका नौ जना असन्तुष्ट पदाधिकारीले यस्तो धारणा राखेका हुन् । एन्फा कार्यसमितिको सोमबार सम्पन्न बैठकमा बहुमत सदस्यको निर्णयले निवर्तमान महासचिव तुलाधरलाई सिइओमा नियुक्त गरेको थियो । बैठकले प्रवीणकुमार यादवलाई सहायक कोषाध्यक्षको जिम्मेवारी समेत दिएको थियो । 

असन्तुष्ट पक्षले कार्यसमिति बैठकको अवैधानिक निर्णय नसच्याए आफूहरू एन्फाको अनुशासन समिति, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अदालतसम्म जाने धम्की समेत दिएका छन् । एन्फाको निर्णयमा असन्त्ष्टी जनाउने पदाधिकारीहरूमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्यद्वय दिर्घबहादुर केसी (कुमार) र विराटजंग शाही तथा सदस्यहरू पेमा डोल्मा लामा, रमेश व्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रवीन्द्र चन्द र रुपेश अधिकारी हुनुहुन्छ । 

असन्तुष्ट पक्षले पत्रकार सम्मेलनमा मध्यपुर यूथ एसानेसिएसनललाई कारबाही गर्ने निर्णय न्यायोचित नभएको, तुलाधरलाई सिइओ नियुक्त गर्ने निर्णय अवैधानिक भएको, महिला समितिलाई बैठकमा समावेश नगरिएको, विधान विपरीत राष्ट्रिय लिग खेल्ने चार क्लबको मताधिकार खोसिएको सहायक महासचिव वसन्त अर्याललाई हटाउने निर्णय विधि अनुसार नभएको र विधान विपरीत इन्ट्रिगिटी अफिसर नियुक्त गरिएको समेत आरोप लगाएका थिए । 

सोमबारको एन्फा बैठकले सिइओ नियुक्तिसँगै एन्फाको विशेष साधारण सभा माघ ८ गते र नियमित साधारण सभा फागुन १४ गते काठमाडौँमा गर्ने, विश्वकप छनोटलगायत विभिन्न अन्तर्राष्ट्रिय  प्रतियोगिता आयोजना गर्दा नि:शुल्क पास वितरणमा पूर्ण बन्देज लगाउने,  प्रतियोगिताबाट गेट टिकट बिक्री वितरणमार्फत उठेको रकमको २० प्रतिशत उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीलाई प्रदान गरिने, सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी फागुन १५ गतेदेखि सञ्चालन गर्नेलगायत निर्णय गरेको थियो ।