काठमाडौं, पुस ३ गते । एक पटक रिफर भई आएका बिमित बिरामीहरूलाई सोही रोगको फलो अपका लागि पुन रिफर पुर्जी लिन नपर्ने भएको छ ।
स्वास्थ्य बिमा बोर्ड बैठकले एक पटक रिर्फर भई आएका बिमित बिरामीहरूलाई सोही रोगको फलो अपका लागि पुनः रिफर पुर्जी लिन नपर्ने व्यवस्थाको निर्णय गरेको हो ।
यसअघि नियमित फलोअपमा गइरहनु पर्ने स्वास्थ्य बिमामा आबद्ध बिरामीले उपचारमा बिमा सुविधा लिनका लागि हरेक पटक प्रथम विन्दुबाट रिफर कागज लिएर बनाएर एक साता भित्र सेवा लिइसक्नु पर्ने व्यवस्था थियो ।
साथै बिमा बोर्डले औषधि सेवन गरिरहेका स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकहरूलाई तीन महिनाका लागि औषधि दिने व्यवस्था गरेको छ ।
यसअघि नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकहरूलाई १ महिनाका लागि मात्र औषधि दिइने व्यवस्था थियो ।
बिमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्णय कार्यान्वयनका लागि आग्रह गर्दै पत्राचार गरिसकेको छ ।