• ८ वैशाख २०८२, सोमबार

क्यानबेरामा ‘माउन्ट एभरेष्ट आरोही अभिनन्दन कार्यक्रम’ आयोजना

blog

काठमाडौं,पुस ३ गते। अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा क्यानबेरास्थित नेपाली राजदूतावासले  ‘माउन्ट एभरेष्ट आरोही अभिनन्दन कार्यक्रम’ आयोजना गरेको छ। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँगको सहकार्यमा क्यानबेरास्थित नेपाली राजदूतावासले  ‘माउन्ट एभरेष्ट आरोही अभिनन्दन कार्यक्रम’ आयोजना गरेको हो।  

कार्यक्रममा अस्ट्रेलियाका सगरमाथा आरोही, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका सहायक सचिव, अस्ट्रेलिया हिमालयन फाउन्डेसन र रिच फर नेपालका प्रतिनिधि, अस्ट्रेलियाली सञ्चारमाध्यम तथा नेपाली समुदायका अगुवाको उपस्थिति  थियो। 

राजदूत एच ई कैलाशराज पोखरेलले विशिष्ट अतिथिलाई स्वागत गर्दै  हिमालसहितका नेपालका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिनुभयो।  

एच ई राजदूतले नेपालमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको वीरतापूर्ण उपलब्धिको प्रशंसा गर्नुभयो।  अस्ट्रेलियामा नेपालको प्रवर्द्धन गर्नुका साथै नेपालीका लागि सहयोग गर्ने विभिन्न परोपकारी तथा गैरनाफामूलक संस्था धन्यवाद व्यक्त गर्नुभयो।  

 कार्यक्रममा सम्बोधन गर्दै पहिलो अष्ट्रेलियाली सगरमाथा आरोही ग्रेग मोर्टिमरले सगरमाथा आरोहण गरेको आफ्नो अनुभव सुनाउनुभयो।  उहाँले यस्तो कार्यक्रम आयोजना गरेर सबै पर्वतारोहीलाई एकै ठाउँमा भेला गर्ने अवसर प्रदान गरेकोमा दूतावासलाई धन्यवाद व्यक्त गर्नुभयो। 

पाँच पटक सगरमाथा आरोहण गर्नुभएका लाक्पा शेर्पाले पनि कार्यक्रमको प्रशंसा गर्दै नेपाली आरोहीले बनाएको कीर्तिमानबारे चर्चा गर्नुभयो।  

कार्यक्रममा अस्ट्रेलिया हिमालयन फाउन्डेसनका सीईओ एन्ड्रयु जज, सबैभन्दा कान्छो अस्ट्रेलियाली सगरमाथा आरोही गेब्रियल कानिजे र जर्ज हिलारी (एडमन्ड हिलारीका नाति) ले कार्यक्रममा नेपालको सुन्दर हिमालयको प्रशंसा गर्दै नेपाली दूतावासलाई धन्यवाद दिनुभयो।  

कार्यक्रममा ३७ अस्ट्रेलियाली सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो।