अमरराज नहर्की
तनहुँ, पुस ३ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको अवरोध भएको प्रसारण लाइन निर्माणको काम पुनः सुरु भएको छ ।
वनको नीतिगत समस्याको समाधान भएपछि प्रसारण निर्माणको काम हाल धमाधम भइरहेको छ । रोकिएको निर्माण कार्य करिब ६ महिना पछि सुरु भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको काम भइरहेको छ । उक्त कार्यका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता गरी विसं २०७५ फागुन १० बाट कार्यान्वयनमा आएको थियो ।
३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावरमध्ये ७० टावरको जग हालिएको र ३४ टावर खडा गरिसकिएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो । टावर फाउन्डेसन कार्य अन्तिम चरणमा पुगको समेत उहाँले जानकारी दिनुभएको हो । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने तनहुँ र चितवनको जग्गाको मुआब्जा निर्धारण भई वितरण समेत ९८ प्रतिशत पूरा भएको शिल्पाकारले बताउनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ ।
प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलाइ भएको हो । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण लगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको छ । मुख्य सुरुङतर्फ कुल एक हजार चार सय छपन्न मिटर खन्नुपर्नेमध्ये एक हजार दुई सय छयालिस मिटर सम्पन्न गरिसकिएको छ । अब मुख्य सुरुङको दुई सय दश मिटर दूरी खन्न बाँकी छ भने ड्याम निर्माणको लागि दायाँ बायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको छ ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने आयोजनाले जनाएको छ ।
आयोजनाको अनुसार तीन वटा प्याकेजमा गरी दैनिक एक हजार पाँच सयको हाराहारीमा जनशक्ति परिचालन गरी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।