अनिल पराजुली
हेटौँडा, पुस २ गते ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डासहित वर्तमान सरकार अगाडि बढेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनताले सबै पार्टी मिलेर राष्ट्रिय एजेन्डामा एक ढिक्का भएर काम गर्न मत दिएको बताउनुभयो ।
प्रचण्ड नेतृत्वको सरकारले तीन एजेण्डालाई प्राथमिकता दिएर काम गरेको बताउँदै सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उहाँले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने सस्कारको विकास जरुरी रहेको बताउनुभयो ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको यही पुस ११ गते एक वर्ष पुग्दैछ, एक वर्ष कस्तो रह्यो भन्ने बारेमा जनतालाई अपिल र सम्बोधन गर्ने तयारी भएको छ,’–उपमहासचिव पुनले भन्नुभयो ।
उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद विघटन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताउनुभयो । त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै पुनले अब माओवादी कमब्याकको चरणमा रहेको बताउनुभयो । एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताउनुभयो ।
माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोषजनक नआएको रिपोर्ट कार्डहरु बाहिर आएको सन्दर्भमा उहाँले अब सरकारले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वाभाविक रहेको बताउँदै उहाँले आगामी चौमासिकमा सरकारको गति बढने उहाँको भनाइ थियो । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सहि रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देश आर्थिक मन्दीमा गएको, श्रीलंका भएको भन्ने हल्ला गलत रहेको उहाँले स्पष्ट पार्नुभयो ।
त्यस्तै ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नगरस्तरीय स्कुलिङ कार्यक्रममा प्रशिक्षण दिँदै देशमा उद्योग व्यवसाय खोल्न नसक्दा विदेशीनु परेको बताउनुभयो ।
निर्वाहमुखी मात्रै खेतीपाति भएको बताउँदै उहाँले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्दै कृषिबाट उद्योगमा स्थानान्तरण हुनुपर्नेमा जोड दिनुभयो । समाजवादी क्रान्ति आवश्यक रहेको जिकिर गर्दै उहाँले समाजवादी क्रान्तिलाई बोक्ने पार्टीको आवश्यकता रहेको औँल्याउनुभयो । नसक्ने वर्गलाई सक्ने बनाउनु सरकारको दायित्व रहेको उहाँको भनाइ छ ।
प्रशिक्षण कार्यक्रममा उपमहासचिव अनन्तले कम्युनिष्ट आन्दोलनको इतिहास र कार्यदिशा, माओवादी केन्द्रका केन्दीय सदस्य एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार डिपी ढकालले राजनीतिक अर्थशास्त्र, केन्द्रीय सदस्य एवं विद्यार्थी नेता लेखनाथ न्यौपानेले वैज्ञानिक समाजवाद बारे प्रशिक्षण दिएको नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर समिति अध्यक्ष तीर्थ बहादुर थापाले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) हेटौँडा उपमहानगरपालिका समितिको आयोजनामा भएको नगरस्तरीय स्कुलिङ कार्यक्रममा नगर भित्रको जिल्ला समितिको सदस्य, नगर पार्टीको सम्पूर्ण पदाधिकारी तथा सदस्य, नगरको सम्पूर्ण सल्लाहकार, वडा समितिको पदाधिकारीसहित वडा सदस्य, जवस-मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो ।