• १९ असार २०८१, बुधबार

बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी

blog

गैँडाकोटमा गरिएको व्यावसायिक मकै खेती । तस्बिर : मीना कँडेल

मीना कंडेल

कावासोत, पुस २ गते । नवलपुर गैँडाकोटका किसानहरू बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुनेगरेको छ । 

जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौँ, पोखरालगायत मुख्य सहरमा पोलेर खाने हरियो मकै गैँडाकोटबाट निर्यात हुँदैआएको छ । गैँडाकोटमा बाह्रै महिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट –६ का किसान तिलकप्रसाद रिजालले बताउनुभयो । 

विगत १५ वर्षदेखि बेमौसममा मकैखेती गर्दै आउनुभएका रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी किसान मकैतर्फ आकर्षित भएका हौँ ।”

हरियो मकैको प्रतिघोगा पाँचदेखि दश रुपियाँका दरले बिक्री हुने र सुक्का प्रतिक्विन्टल तीन हजारका दरले बिक्री गर्नेगरेको रिजालको भनाइ छ । रिजाल पशु विकास कृषि फर्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकै बिक्री गरी एक सिजनमा चारदेखि पाँच लाखसम्मको आम्दानी हुने बताउनुभयो । 

बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दैआएको सरस्वती सापकोटाले बताउनुभयो । व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने सापकोटाले बताउनुभयो । 

जाडो मौसम विशेषगरि पुस र माघमा दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकै पोल्ने र खानेको भिड देख्न सकिन्छ । हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सावित्री शर्माले बताउनुभयो । उहाँले प्रतिघोगा पाँचदेखि दश रुपियाँमा खरिद गरेर २० देखि २५ रुपियाँमा बिक्री गर्नेगरेको बताउनुभयो ।

गैँडाकोट–६, ७ र ८ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको छ । गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको –५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुनेगरेको बताउनुभयो । बाह्रैमास मकै उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित छन् ।  

यहाँ ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ । प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन उत्पादन भएको शर्माले बताउनुभयो । आ.व. २०७८–७९ मा प्रतिहेक्टर तीनसय ५० मेट्रिक टन उत्पादन भएको थियो । २०७९–८० मा ११२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चारसय ६२ मेट्रिक टन भएको गैँडाकोट नगरपालिका कृषि विकास शाखाको तथ्याङ्क छ । 

गैँडाकोटमा बर्खे मकै सात हजार तीनसय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको भए पनि अन्य मौसममा भने कम क्षेत्रफलमा मकै खेती हुनेगरेको छ । गैँडाकोटमा हिउँदको समयमा लगाइएका हरियो मकै मात्र तीन करोड बढीको बिक्री हुनेगरेको शर्माको भनाइ छ ।