काठमाडौँ, पुस २ गते । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेको बताउनुभएको छ । सोमबार एक कार्यक्रमबिच उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेका बताउनुभएको हो ।
उहाँले आफूहरूको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताउनुभयो । उहाँले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताउनु भयो । उहाँले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गर्नुभयो ।
त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उहाँको भनाई छ । उहाँले एमालेको सङ्कल्प यात्राले अगामी २०८४ सालमा सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो अभियानले के देखायो भन्दाखेरी नेपाली जनताले नेकपा(एमाले)को नेतृत्वमा खोजेका छन् । नेकपा(एमाले)को सरकारलाई विस्थापित खोजे यताको अवधिमा नेपाली जनताले जुन किसिमको भोगाइहरू भोगेका छन्, त्यसले के सिद्ध गरेको छ भने, नेकपा(एमाले)ले मात्रै यो देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ । देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र देशको विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्छ र समाजवादको स्थापना र त्यसको आधार निर्माण एमालेको नेतृत्वले मात्रै गर्नसक्छ भन्ने देखाएको छ । अभियानले एमाले पार्टी र जनताबिचको सम्बन्धलाई धेरै सुदृढ गरेको मैले अनुभव गरेको छु । अपार स्नेह, अपार माया र जनताहरूको स्वागतले एमाले र जनताबिचको सम्बन्ध यो अभियानले धेरै माथि उठाएको छ । आगामी मिसन ८४ कार्ययोजना पार्टीले निश्चित गरेको छ, नेकपा (एमाले)को बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न यो अभियानले महत्त्वपूर्ण भूमिका खेलेको मैले अनुभव गरेको छु ।’’
उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भूमिका खेलेको बताउनुभयो । नेता, कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उहाँको भनाई छ । उहाँले नेपालमा समाजवाद र्स्थापना नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भूमिका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा ऐतिहासिक अभियान थियो । यसले नेपालको समाजवादी आन्दोलनमा, समाजवादको स्थापनामा महत्त्वपूर्ण भूमिका यो यात्राले आफ्नो भूमिका निर्वाह गरेको मैले अनुभूति गरेको छु । यो एउटा राजनीतिक अभियान थियो । यसले नेकपा (एमाले) को राजनीतिक कार्यदिशालाई स्थापना गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । यो अभियान ठुलो विश्वविद्यालय पनि बनेको छ । यसमा पार्टी नेता, कार्यकर्ताहरूले धेरै कुराहरू पार्टीको कार्यदिशा नेपालको समृद्धि, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई स्थापना गर्नको निम्ति यो अभियानले, यो यात्राले पार्टीलाई प्रशिक्षित गरेको छ । नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी हुँदै आएको छ । यो घेरालाई तोड्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्यो भन्ने मैले अनुभूति गरेको छु ।’’
उहाँले एमालेको संकल्पयात्रा भण्डाफोर अभियानको रूपमा पनि रहेको उल्लेख गर्दै नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताउनुभयो ।