ललितपुर, पुस २ गते । ललितपुर महानगरपालिका, महाङ्काल गाउँपालिकाका ३६ घर परिवार भूमिहीन, दलित सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको छ । सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय भूमि आयोग, ललितपुर जिल्ला समितिका अध्यक्ष श्रीगोविन्द महर्जनले सो क्षेत्रका ३६ परिवार भूमिहीनलाई निस्सा वितरण गर्नुभएको हो ।
सो अवसरमा महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले निस्सा पाउनुभएका भूमिहीन सुकुम्वासीका लागि यस आर्थिक वर्षभित्र प्रक्रिया पुर्याएर जग्गाको लालपुर्जा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय भूमि आयोग, ललितपुर जिल्ला समितिका सदस्य प्रतीक ङेसुर तामाङले महाङ्काल गाउँपालिकाका १ देखि ६ वडाभित्र बसोबास गर्ने भूमिहीन सुकुम्वासी ३६ घरपरिवारले जग्गाको निस्सा प्राप्त गरेको जानकारी दिनुभयो ।