काठमाडौँ, पुस २ गते । काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस)मा सर्वोत्कृष्ट एक जना विद्यार्थीलाई पनि स्वर्ण पदक दिने भएको छ ।
कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा.बुद्धिमान श्रेष्ठले कलेजको १७औँ वार्षिकोत्सव समारोहमा बीडीएसमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने व्यवस्था मिलाउन १० लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
केयु स्कुल अफ मेडिसिनका डीन प्रा.डा. मनोज हुमागाईँले अक्षयकोषको व्याजबाट आउने रकमबाट गोल्डमेडल उपलब्ध गराउने योजना बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले घोषणा भएको छ । अब छिटै नै यस विषयलाई व्यवस्थित गर्दै आगामी ६ महिनापछि हुने अर्को दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रदान गर्ने योजना ।”
डा. श्रेष्ठले एमबीबीएस तर्फका विद्यार्थीहरूले स्वर्ण पदक पाई रहँदा बीडीएस तर्फका विद्यार्थीहरू सो अवसरबाट वञ्चित भएको भन्दै आफूले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले केयुमा अक्षयकोष स्थापना गरिदिने हो । यसको परिचालन र सबै जिम्मा केयुले नै गर्नेछ । यो पैसाले केयु अन्तर्गत कलेजमा बीडीएस पढी सर्वोत्कृष्ट भएका विद्यार्थीलाई दिइने छ ।” उहाँले विद्यार्थीलाई प्रोत्साहन र हौसलाका लागि आफ्नो तर्फबाट कोष खडा गर्न लागेको जानकारी दिनुभयो ।