यदुप्रसाद भट्ट
मनाङ, पुस २ गते । मनाङ नासोका दलितले सम्बृद्धि आए पनि आफूहरुका लागि नआएको भन्दै गुनासो गरेका छन् । नासो गाउँपालिका –४ घेलान चोकका ११ घर दलितहरु चिसोमा कष्टकर जीवन जिउन बाध्य भएका छन् ।
पुख्र्याैली पेसा आरानको आम्दानीले मात्र परिवार पाल्न धौ–धौ परेको अर्जुन विश्वकर्माले गुनासो गर्नुभयो । उहाँले सम्पत्तिका नाममा एक दुई आनामा बनेको छाप्रोबाहेक अरु केही नभएकाले परिवार पाल्न गाह्रो भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तन भए पनि दलितको अवस्था परिवर्तन भएन ।’ उहाँले २०४६ सालदेखि बहुदलीय व्यवस्थाका लागि दलितले गरेको योगदानको कदर हुन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । स्थानीय तहमा विशेषगरी नासोमा दलितको पहुँच छैनभन्दा पनि फरक नपर्ने उहाँको भनाइ छ ।
गाउँपालिकामा दलित प्रतिनिधिका रुपमा कार्यपालिकामा सदस्य नियुक्त भए पनि आफ्नो समस्याबारे बोल्न नसकेको स्थानीय दलित राजु विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोजगारको कुरा त जिरै हो, पूरै गाउँपालिकामा २४ घरधुरी छ । तर शिक्षा छैन ।
शिक्षित नहुँदा आफ्नो हक अधिकारबारेमा बोल्न नसकेको उहाँको भनाइ छ । गाउँपालिकाले प्रस्ट रुपमा नीति तथा कार्यक्रम ल्याउन नसकेको दलित अगुवा गम्भीरजंग विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत फागुनमा दलित अगुवा आएर कुरा राखेर जानुभयो, टाउको तथा मुख देखाउने काम मात्र भयो, अरु केही हुन सकेन ।’
कुखुरालाई चारो छरेजस्तो गरी गापाले बजेट छरेकाले यसको कुनै अर्थ नहुने उहाँले बताउनुभयो । दलित मुक्ति तथा उत्थानका लागि नीति तथा कार्यक्रम बनाएर बजेट विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कसैले आफ्नो घरभित्र छिराउँदैमा दलित मुक्ति अभियान सफल नहुने बताउनुभयो ।
नासोका ५, ७, ८ तथा ९ वडामा गरेर २५ घरधुरी दलित रहेका र उहाँलाई बनिबुतो गरेर छाक टार्न धौधौ परेको उहाँले जोड दिनुभयो । खान लाउन नै गाह्रो हुने गरिब दलितलाई शिक्षामा पनि भेदभाव गरेको भन्दै उहाँले गाउँपालिकाभरि रहेका सबै दलित विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा दिनुपर्ने आफ्नो माग रहेको बताउनुभयो ।