काठमाडौँ, पुस २ गते । सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई/मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको पश्चिमी क्षेत्रको काम अवरोध भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल र भारतबिचको सीमा विवादका कारण मुलुकको पश्चिमी क्षेत्रमा हुलाकी राजमार्ग कालोपत्रेको अवरोध भएको जानकारी दिनुभएको हो। राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकमा मन्त्री ज्वालाले सो जानकारी दिनुभयो । उहाँले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा राजमार्ग कालोपत्रे कार्य अवरोध भएको बताउनुभयो । कालोपत्रे कार्यमा भारतीय सीमा सुरक्षा बलले समेत अवरोध पु¥याइरहेको मन्त्री ज्वालाको भनाइ थियो । समितिले केही दिनअघि त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
सो क्षेत्रमा सीमा विवाद समाधानका निमित्त पहल भइरहेको जानकारी दिँदै उहाँले बेलौरीको पचुई स्थित नेपाल–भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्रे गर्नसमेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको बताउनुभयो। सो क्षेत्रमा सीमा विवाद तथा राजमार्ग कालोपत्रे गर्ने विषयमा पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको बताउँदै मन्त्री ज्वालाले यस विषयमा पहल गर्न समितिलाई समेत आग्रह गर्नुभयो ।
बैठकमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजयकुमार मुलले सो क्षेत्रमा सीमा विवादका कारण एक हजार चार सय मिटर सडकखण्डमा राजमार्गको कालोपत्रेलगायतका काम अवरोध भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय सुरक्षा बलले सो क्षेत्रमा हुलाकी राजमार्ग नै भारतको क्षेत्रमा परेको दाबी गर्दै आएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय अनुसार आयोजनाको कुल भौतिक प्रगति ८७ प्रतिशत रहेको छ भने अझै सयौँ किलोमिटर सडकको रेखाङ्कन (एलाइन्मेट) नै तय गर्न बाँकी छ। त्यसै गरी अझसम्म कतिपय सडकखण्ड र पुल निर्माणको बोलपत्रसमेत आह्वान हुन सकेको छैन। सरकारले आर्थिक वर्ष २०७९/८० सम्ममा यस राजमार्गको निर्माण कार्य सम्पन्न गर्ने निर्धारित समय तय गरेको थियो।