• १६ वैशाख २०८१, आइतबार

धरान बन्दले सर्वसाधारण र साना व्यापारी मर्कामा

blog

निशा राई

धरान, मङ्सिर ३० गते । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका कार्यकर्ताहरूको रिहाइको माग गर्दै बन्द गर्ने क्रममा धरानबाट  थप ५ जना पक्राउ परेको छ ।

पक्राउ परेको पहिचानवादीहरूलाई रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको क्रममा धरानबाट प्रहरीले ५ जना पहिचानवादी नेता, कार्यकर्तालाई पक्राउ गरेको जनता समाजवादी राष्ट्रिय नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्ष जेन्टल लिम्बुले बताउनुभयो ।

पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । पक्राउ गरिएको  पहिचानवादीहरूको बिनाशर्त रिहाइ हुनुपर्ने नभए अझ चर्को आन्दोलन गर्ने अध्यक्ष लिम्बुले बताउनुभयो ।

बन्दले धरान सुनसान रहेको छ, भानुचोक वरपर साना ठुला दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधना कुनै पनि सवारी साधन आवतजावत गर्न पहिचानवादीहरूले रोक लगाएको छ ।

पैदल यात्री बाहेक सबै सवारी साधनमा पहिचानवादीहरूले रोक लगाउँदा साना व्यापारीलाई मर्का परेको व्यापारी सिता आचार्यले बताउनुभयो । उहाँले मौसम अनुसारको फलफूलहरू  खरिद गरी डोकोमा बजार डुलाएर बेची घरव्यवहार चलाउँदै आएको बताउनुभयो । 

अहिले सुन्तलाको मौसम भएकोले सुन्तला खरिद गरी बेच्न आउनुभएकोमा हाल सम्म १ केजी पनि बिक्री नभएको बताउनुभयो । आफू जस्तै थुप्रै व्यापारी छन् आज सबैको हालत यस्तै छ र यो सुन्तला समयमा बिक्री नगरे बिग्रने र आफूहरूको दैनिकी चलाउन समेत मुस्किल हुने बताउनुभयो ।