• १० मंसिर २०८१, सोमबार

जूरिकको बिहानी बेलुकी

blog

जर्मनीको राजधानी बर्लिनदेखि स्विट्जरल्यान्डको जूरिकको बस यात्रा सुरक्षित लाग्यो तर बसको यात्रा मलाई स्वदेश होस् कि विदेश; कहीँ पनि लोभलाग्दो लाग्दैन । जूरिक शब्दको शुद्ध उच्चारण जूरिख हुन्छ, मेरो साथी प्रकाश ए. राज भन्नुहुन्छ किनभने उहाँलाई स्विस भाषाको अल्पज्ञान छ । त्यसै अल्पज्ञानको भरमा उहाँ पटक पटक भन्नुहुन्छ, जूरिक होइन जूरिख र मलाई आनन्द लाग्छ । 

एक पत्रिकाका पृष्ठ संयोजकले त एउटा मेरो नियात्रा संस्मरणको नाम नै फेरिदिएर जूरिच गरिदिए । प्रकाशित भएर आएपछि मैले सम्पादकज्यूसँग सोधेँ, यो के हो ? म जूरिक भन्छु र लेख्छु तर तपाईं जूरिच भन्नुहुन्छ । उहाँले फेरि मलाई जूरिख नै शुद्ध हो भन्नुभयो तर जूरिच सच्याएर छाप्ने पृष्ठसंयोजकको स्विस भाषाको पटक्कै ज्ञान नभएकाले जूरिच गरिदिए । खैर नाम में क्या है ? चलनचल्तीको भाषामा चियोचर्चा हुने गर्दछ ।  यो कुनै आश्चर्यको विषय होइन, म शायद विषयान्तर भएँ । काठमाडौँलाई काठमाण्डू भनेको जस्तै हो । लेख्ने आधारमा अङ्ग्रेजी भाषाको काठमाण्डू विश्वमा परिचित भएकाले यसलाई काठमाण्डू भनिएको छ । काठमाडौँ नेपालमा मात्र सीमित हुन पुगेको छ । 

मैले जूरिकको जरो पत्ता लगाउनका लागि यो प्रसङ्ग उठाएको होइन । यो भाषाविद्हरूको विषय हो । योभन्दा पनि भाषा विज्ञानको ध्वनि विज्ञानको क्षेत्रको विषय हो । खैर, जेसुकै होस् । रात्रिबसको यात्राको अन्त्य र जूरिक प्रवेशको प्रथम प्रकाशको जब दर्शन भयो, मन प्रसन्न एवं प्रफुल्ल हुन पुग्यो । सूर्यको लालिमायुक्त प्रकाशको स्निग्ध एवं स्नेहिल स्पर्शबाट प्रफुल्लित मन एकै क्षणपछि विरक्त हुन पुग्यो । होटल रिजर्भेसन नभएको कारणले तीन–चार घण्टासम्म शरणार्थीको अनुभव दिलाउन थाल्यो । जूरिकको प्रकाशमा कुनै परिवर्तन भएको थिएन । यो प्रकाश जूरिकको परिवेशलाई प्रकाशित पार्दै थियो । 

मानिसमा एउटा नयाँ उत्साह एवं उमङ्ग उत्पन्न गरिराखेको थियो । जूरिकका स्थानीयवासीमा त झन् जोस र जाँगर थपिराखेको थियो तर म र मेरा सहयात्रीलाई चाहिँ थप सन्त्रास एवं यन्त्रणाको अनुभूति गराइराखेको थियो । हामीलाई यस्तो अनुभव भइराखेको थियो कि पृथ्वीको स्वर्ग भनिएको स्विट्जरल्यान्डको जूरिक सहरको जहरिलो हावाको थपेडोले धेरै थकित तुल्याइरहेको छ ।  जूरिकको प्रातःकालीन हावाले त धेरै प्राकृतिक र स्वर्गीय अनुभूति दिइराखेको थियो तर आफ्नो ठौर–ठेगाना नभएकाले हामीलाई जहरिलो लागिराखेको थियो । भनिन्छ नि मनमा शान्ति, सुख, स्थायित्व र सुन्दरता छ भने सम्पूर्ण परिवेशलाई परिवर्तन गरिदिन्छ । रातभरिको अनिँदो अवस्था तथा थकावटले गर्दा शरीर शिथिल भइसकेको अवस्थामा प्राकृतिक देनले पनि विषाद नै उत्पन्न गर्दछ । 

एकातिर जूरिकको प्राकृतिक सौन्दर्य अवर्णनीय थियो भने अर्कोतिर मनमा निराशा घनीभूत भइराखेको थियो कि हाम्रो ठौर ठेगानाको के हुन्छ ? केही मानिसलाई सोध्यो, उता पर जानुस् त्यहाँ एउटा गेस्टहाउस छ, कसैले नदीपारि जानुस् होटल पाउनुहुन्छ । सबै आ–आफ्नै किसिमबाट निर्देश दिइराखेका थिए तर हामी दुवै जनाले आश्वस्त हुने कुनै आधार भेटिराखेको थिएन ।

स्विस पर्यटन बोर्डले खाली तारे होटलहरूको फेहरिस्त पेस गरिराखेको थियो । हुँदाहुँदा आखिर एउटा तारे होटलमा नै आवासको अवस्थामा आश्रय लिन पुगियो । धेरै महँगो भए पनि जिउज्यानलाई एक रातिका लागि आश्रयस्थल प्राप्त भयो । गुन्टालाई थन्क्याएर कोठासँगै संलग्न शौचालयमा प्रवेश गरेपछि झन् मन चङ्गा हुन गयो । रातभरिको अनिद्रा र आलस्यको अन्त्य हुन गयो । होटलमा अल्पाहार लिएर हामीले जूरिकको पर्यटकीय स्थल हेर्ने लोभ सवरण गर्न सकेनौँ । 

काठमाडौँ बस्दा स्विट्जरल्यान्ड पनि नेपाल जस्तो सानो र सुन्दर देश हो सुन्दै एवं पढ्दै आएको थिएँ । नभन्दै जूरिकको भूगोल, डाँडाकाँडा, परिवेश र पहाडको दृश्यावलीले ध्यान आकृष्ट गर्न थाल्यो । लोकल ट्रेन समातेर जूरिकको यात्रा सुरु ग¥यौँ, यस ट्रेनको अन्तिम पडावसम्म पुग्यौँ र त्यहाँबाट आल्पस पहाडको मनमोहक र मनोरम दृश्यावली हे¥यौँ । आल्पस पहाडसम्म पुग्ने समय थिएन ।

जूरिकको आकाशमा अन्धकारले आफ्नो आधिपत्य जमाउन थालेको थियो । त्यस्तो समयमा हामी त्यहाँसम्म पुग्न असमर्थ थियौँ । मेरो सहयात्रीको जोड हामी हिमाली देशको बासिन्दा सबैभन्दा धेरै पहाडको दृश्यवलोकन गरिसकेका मानिसलाई आल्पसको आकर्षणले आफूतिर आकृष्ट गर्नमा असमर्थ थियो र हामी पनि त्यहाँसम्म पुग्नमा असमर्थ थियौँ । फेरि अर्को ट्रेन समातेर सहरतिर लाग्यौँ । 

जूरिक सहर साँझमा झन् आकर्षक चिटिक्क परेको चित्ताकर्षक लाग्न थाल्यो । फेरि हामी भोकाएका पनि थियौँ । धेरै रेस्टुरेन्ट र इटिङ स्टलहरू चहारेर एउटा स्टलमा गएर खानेकुरा किनेर ट्याक्सीबाट नै होटल फर्कियौँ । हुन त त्यहाँ बसेर खाने व्यवस्था पनि थियो तर त्यहाँ बसेर खाँदा झन् होटल फिर्न ढिलो हुन्थ्यो तसर्थ आफ्नो होटलमा खाने निधो गरेर यस्तो निर्णय गर्न पुग्यौँ । 

यो निर्णय पनि राम्रो नै लाग्यो किनभने त्यहाँ बसेर खाँदा अरू पर्यटकका लागि हामी कति ‘पोर डाइट’ खान्छौँ त्यो पनि थाहा हुन्थ्यो । होटलका एकान्त कोठाको कुनामा बसेर हाम्रो खानाको परिकार, परिमाण र विशेषता पनि लुकाइन्थ्यो । हामी दुई जना समान लिङ्गी थिएनौँ तर पनि एउटै कोठामा बस्दा पैसा कम तिर्नुपर्ला भनेर बसेका थियौँ र कुनै असजिलो परिस्थितिको सामना पनि गर्नु परेन । अचेल युरोपेली र अमेरिकी समाजमा केटा–केटी, पुरुष र महिला सँगै बसेर पनि रात दिन काट्न सकिन्छ भनेर युगबोधको असर एवं अनुमान पनि गर्न सकिन्छ र सस्तोमा बास बस्न पनि पाइन्छ । 

मेरो सहयात्रीले लहडमा आएर भोलिपल्टको होटल पनि रिजर्भेसन गराइसकेकाले भोलिपल्ट बिहानै एयरपोर्ट होटल चेकआउट गरेर निस्कियौँ । त्यस होटलको नाम थियो– वाल्हाड्ला; जुन एयरपोर्ट होटलभन्दा महँगो थियो । साथीको सुझाव के थियो भने त्यो होटल सबै दृष्टिकोणबाट सजिलो छ । बस स्टेसनसँगै जोडिएको थियो र सिटीसेन्टरबाट पनि नजिक । साथीले भोलिपल्टको साढे तीन घण्टाको जुरिक सिटी टुर र लेक व्रmुजको रिजर्भेसन पनि गराइसकेकाले हामी बिहानै होटलमा ब्रेकफास्ट खाएर हिँड्नुपर्ने बाध्यता थियो । डेढ घण्टा हामीले लेक क्रुजमा बिताउनुपर्ने थियो । जुरिक तालै तालको सुन्दर, शान्त र सफा पानीले भरिएको सहर । प्रदूषणको त कुरै भएन । हामी नेपाली पोखरास्थित फेवातालमाथि गौरव गर्दछौँ र यसैलाई फेरि फोहोर पनि गर्दछौँ । जूरिकमा अनेकानेक तथ्यहरू छन् पोखरा जस्तै भन्दछौँ तर पोखराको रूपाताल र बेगनासतालको पनि बेहाल छ । यी तालमा क्रुजसम्मको सुविधा उपलब्ध छैन अनि कसरी पर्यटक आकृष्ट हुन्छन् तर जूरिकको तालहरूमा क्रुजको सुविधा भएकाले बिहानदेखि बेलुकीसम्म पर्यटकको घतलाग्दो घुइँचो हेर्नलायकको हुन्छ । 

निःशुल्क शौचालयको व्यवस्था पनि उपलब्ध छ । यी झरनाको तरङ्गबाट तन र मन झङ्कृत भएको महसुस हुन्छ । शीतल र सरस तथा सुन्दर हावाको झोँका बहिरहन्छ; जसले गर्दा थकाइको त अनुभव नै हुँदैन । असङ्ख्य झिलको चारैतिर पहाडमाथि घनाबस्ती देखिन्छ । हाम्रो एउटा क्रुज ढिलो भएकोले छुटिसकेकाले झिलको किनारमा शीतल हावा खाँदै अर्को क्रुजको प्रतीक्षामा थियौँ । 

जलचराहरूको चिरविर सुनिराखेका थियौँ । चरा विशेषज्ञ नभएकाले चराहरूको नाम थाहा भएन र क्रुजमा पनि कुनै गाइडको व्यवस्था नभएकाले अज्ञात र असङ्ख्य चराहरूको सुमधुर स्वरमा स्वर्गीय आनन्दको अनुभूति भइरखेको थियो । 

देश विदेशका पर्यटक आइरहन्छन् र गइरहन्छन् । सबैभन्दा कम समयको अर्थात् ९० मिनेटको क्रुज हुन्छ भने बढीमा साढे तीन घण्टाको । बस्ने व्यवस्था दुई–दुई जनाको एउटा सिटमा गरिएको हुन्छ । हरेक टेबुलमा मेनु राखिएको हुन्छ । र, त्यसमा बियर र वाइनको रेट लेखिएको हुन्छ । एउटा बोतल बियरको ६.२० फ्रैङ्क र वाइन बोतलको नौ फ्रैङ्क । पर्यटक आ–आफ्नो मनपसन्द ड्रिङ्क लिएर क्रुजमा आनन्द लिइरहेका हुन्छन् । 

हामी आइतबार सप्ताहान्तमा गएका थियौँ तसर्थ पर्यटकको भिडभाड थियो । स्थानीयवासीको सङ्ख्या कम थियो तर विदेशी पर्यटकको सङ्ख्या बढी देखिन्थ्यो । मौसम पनि रमाइलो र घमाइलो थियो । यसरी क्रुजको सुविधा प्रदान गरेर पर्यटकलाई लोभ्याउन स्विस सरकार सिपालु भएको पाइयो ।  प्रकृतिप्रदत्त उपहारहरू स्विस सरकारले प्रचुर मात्रामा सुव्यवस्थित गरेर भरपुर आय आर्जनमा पनि अधिक आकर्षित लाभ लिइराखेको पाइन्छ । अथाह जलराशिमाथि क्रुज तीव्र गतिमा गतिशील भएको जस्तो महसुस हुन्छ । हामी हुन्छौँ र हाम्रो सामुमा अथाह जलराशि भएको ताल । ताल तरङ्गित नभएर शान्त हुन्छ । 

झिलको बिचमा त चराचुरुङ्गीहरू पनि देखिँदैन । तालको किनारमा पुग्दा सूर्यको रातो किरण अर्थात् सन्ध्या बेलामा नौका विहार नयनामिराम मात्र भएन, आनन्दप्रद पनि भयो । झिलको किनारमा राता–राता फूललाई सिमेन्टको गमलामा सजाइएकाले प्राकृतिक सौन्दर्यमा वृद्धि भइराखेको लाग्यो । क्रुजपछि पाँच मिनेटको दूरीमा हाम्रो होटल अवस्थित भएकाले हिँडेर नै होटल आइपुग्यौँ । बाटोमा फाट्टफुट्ट मानिस हिँडेको देखिन्थ्यो किनभने आइतबारको दिन थियो । बिदाको दिन भएर होला, मानिस आनन्द मनाउनका लागि रङविरङका छाताहरू ओढेर हिँडिरहेका देखिए । कपडाको जुत्ता र हाफ पाइन्ट, बुट लगाएर नै हिँडिरहेका थिए । यहाँको मानिस अरूलाई पनि दिँदैनन् र अरूको पैसा पनि खाँदैनन्, यो सबक हामीले सिक्यौँ । 

जूरिकस्थित नेसनल म्युजियम हेर्न हामी गयौँ तर आइतबार भएकाले बन्द थियो । प्रवेश शुल्क १० फ्रैङ्क भए पनि बन्द भएकाले हेर्न पाएनौँ । त्यहाँ फाइदा के भयो भने शौचालय निःशुल्क भएकाले शौच गर्दा शुल्क तिर्नु परेन । लिमैट नदीको किनारमा पुग्यौँ र शीतल हावा खान थाल्यौँ । यस नदीमा राजहाँसहरू पौडी खेलिराखेको दृश्यावली हेर्नलायकको थियो । इन्टर डिस्काउन्ट डिपार्टमेन्टल स्टोरमा घुम्दै समय बिताउन थाल्यौँ ।

‘प्रेस बुक्स (पी एन्ड बी)’ किताब पसलमा किताबहरूको शीर्षक मात्र हेरेर धेरै समय बित्न गयो । प्रायःजसो पुस्तकहरू फ्रेन्च, जर्मन र स्विस भाषामा लेखिएकाले केही बुझ्न सकिएन । त्यसपछि ‘स्प्रैङ्गल’ नाम गरेको खाने ठाउँमा गयौँ र स्वरुचि अनुसारको खाना खायौँ । त्यस राति नै हाम्रो बसको टिकट रिजर्भ भएकाले धेरै समय बाहिर नबिताएर होटलमा पुगेर आ–आफ्नो मालसामान व्यवस्थित गर्न थाल्यौँ । त्यस राति नै १०ः३० बजे जूरिकबाट बर्लिन फर्किने बसको समय थियो । 

हरेक ऋतुमा यी तालहरूको किनारमा घुम्नु वा पैदल हिँड्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । किनभने यी तालहरू प्रदूषणविहीन हुन्छन् र शीतल मन्द हावाले फोक्सो, दिल र दिमागमा प्रशस्त अक्सिजन लिन सकिन्छ । यहाँभन्दा पर एउटा सुन्दर राम्रो पार्क पनि अवस्थित छ । यसको ठिक नजिक चिनियाँ बगैँचा पनि लगाइएको छ । यहाँ आराम, मनोरञ्जन, सूर्य स्नान गर्ने प्रशस्त सुविधा छ । केही टाढा ज्यूरिक होर्न नाम गरेको एउटा डेल्टा छ; जहाँ ताल किनारमा रेस्टुरेन्ट पनि छ । यसको नजिकै रेलवे स्टेसन पनि छ । यस तालको पश्चिमी किनार त्यति लोकप्रिय छैन तर घुम्नका लागि उपयुक्त मानिन्छ । यहाँबाट नजिकै ल्यान्डिबिज छ; जहाँ विभिन्न सांस्कृतिक कार्यक्रम भइरहन्छ । 

लेक जूरिकमा नौकाविहारका लागि कतिपय क्रुजहरू जहिले पनि तयार देखिन्छ र त्यसको टिकट काउन्टर पनि त्यहीँ किनारमा स्थित हुन्छ । द लेक जूरिक नेभिगेसन कम्पनी जूरिक लेक र लिमाट नदीमा नौका विहारका लागि पनि सालभरि यी सुविधा उपलब्ध हुन्छ । 

अन्त्यमा, एउटा हाइकु लेख्दै जूरिकलाई बाइबाई भन्याैँ । 

जूरिकलाई बाइबाई भन्दै हिँड्ने भयौँ ।  

 

Author

रामदयाल राकेश