• १२ मंसिर २०८१, बुधबार

'पाँचथर अस्पतालमा एनएसथेसिया डाक्टरको दरबन्दी र पारामेडिक्स कक्षा सञ्चालन हन्छ'

blog

पाँचथर जिल्ला अस्पतालमा निर्मित ५० शैय्या क्षमताको भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत । तस्बिर : राधा लुइटेल ।

राधा लुइटेल 

फिदिम, मङ्सिर २९ गते । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पताल भवन पाँचथर सदरमुकाम फिदिममा निर्मित ५० शैय्या क्षमताको जिल्ला अस्पताल भवन उद्घाटन गर्नुभएको छ । मन्त्री बस्नेतले शुक्रबार आयोजित एक समारोहमा अस्पताल भवनको उद्घाटन गर्नुभएको हो ।

अस्पताल उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री बस्नेतले पाँचथर जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्न संघीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

"अस्पतालमा अत्यावश्यक देखिएको एनएसथेसिया तत्काल पठाउन समन्वय गर्छु", मन्त्री बस्नेतले भन्नुभयो । पाँचथरमै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालन गर्ने गरी संरचना बनाउने पनि उहाँको प्रतिवद्धता छ ।

यस्तै, देशको चिकित्सा भद्रगोल अवस्थामा पुगेको मन्त्री बस्नेतको भनाइ छ । बस्नेतले भन्नुभयो, "त्यसलाई सुधार गर्न ५० शैय्याको अस्पतालले नर्सिङ कक्षा सञ्चालन गर्न पाउनुपर्छ । डामाडोल भएको स्वास्थ्य क्षेत्रलाई सुधार्न चिकित्सका शिक्षा ऐनमै सुधार गर्नुपर्छ ।"

तीन सय शैय्याभन्दा माथिका अस्पतालले चिकित्सक उत्पादनका लागि एमबिबिएस कक्षा सञ्चालन गर्न पाउनुपर्ने तर्क उहाँको छ । नेपाल सरकारले सबै अस्पताललाई ५० शैय्याको बनाउने नीतिगत निर्णय पनि भएको छ । उक्त नीति कार्यान्वयन भएका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्नुपर्ने बस्नेतको जोड छ ।

बस्नेतले अबको छ महिनाभित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा सुधार हुने दावी गर्नुभयो । ‘तपाईहरुले स्वास्थ्य क्षेत्रको प्रगती देखाएर भोट माग्ने अवसर पाउनुहुन्छ,’ कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर जनतालाई निराश बनाउने काम गर्दिन ।’

२०७४ सालमा निर्माण सुरु भएको भवन संघीय सरकारको कार्यक्रममार्फत् २१ करोड ३४ लाख १ हजार ९ सय २८ रुपियाँ लागतमा गत वर्ष निर्माण सम्पन्न भएको थियो ।