• १५ मंसिर २०८१, शनिबार

तस्करीका सामग्री प्रहरीद्वारा बरामद

blog

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको करिब ३२ लाखको अवैध सामान । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २९ गते । गत केही समय यता सीमा नाकामा तैनाथ नेपाली सुरक्षाकर्मीले भारतबाट हुँदैआएको तस्करी रोक्न आफ्नो सक्रियता बढाएको छ । प्रहरीले तस्करीको सामग्री बरामद गरेको छ ।  

भन्सार राजस्व छलेर भित्रिनेगरेको अवैध ठूलो परिमाणको मालसामान दैनिकजसो विभिन्न स्थानबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिंदैआएको छ । सोक्रममा पछिल्लो पटक सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको टोलीले जिल्लाको खजुराबाट करिब ३२ लाखको अवैध सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले दिनुभएको जानकारीअनुसार भारतबाट अवैध रुपमा ठूलो परिमाणमा सामान भित्रिएको विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा गाडीमा भरेर ल्याइएका ३१ लाख ४४ हजार ३०० रुपियाँको सामान नियन्त्रणमा लिएको हो । 

उहाँले खजुरा गाउँपालिका –६ स्थित सिमलघारीमा सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदैगरेको १४ लाख ७० हजार ३०० रुपियाँ बराबरको बिभिन्न प्रकारका लत्ताकपडा, पाँच लाख ८४ हजार रुपियाँ बराबरका काँस र एक लाख ४० हजार मुल्य बराबरका पित्तलका मुर्ति, भाँडाबर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको नौ लाख ५० हजार मूल्य बराबरको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

सो अवसरमा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका –५ निवासी कमल हलुवाई र सो गाडीचालक भारतको जिल्ला लखीमपुर कटौली ग्रामपञ्चायत बस्ने भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा सामानसहित बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले जनाएको छ । 

गत केही समययता सशस्त्र प्रहरीले दैनिकजसो नेपालगन्जका विभिन्न स्थानबाट कपडा, मोटर्सपार्ट र अन्य सामग्री ठुलो परिमाणमा बरामद गर्दै आएको छ । प्रहरीले दैनिकजसो अवैध सामग्री नियन्त्रणमा लिन थालेपछि यो नाकाबाट ठुलो परिमाणमा अवैध आयात र तस्करी हुनेगरेको छ । 

अवैध आयात र चोरी निकासी रोक्न प्रहरीले सक्रियता बढाएको जनाउँदै तस्करीमा संलग्न कसैलाई पनि नछाडिने सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी शाहीले बताउनुभयो ।