• १२ असार २०८१, बुधबार

महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास

सरकारको ध्यान ठुला कृषि परियोजनामा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार काभ्रेपलाञ्चोक जिल्लाको होक्सेमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रम सचिवालय

केदार तिमल्सिना 

बनेपा, मङ्सिर २८ गते । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७, होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माणले मूर्त रूप लिएको छ । दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्कको शिलान्यास गर्नुभयो । 

शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ठुला कृषि परियोजनाको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आएको बताउनुभयो । 

उहाँले मलखाद र बिउबिजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यावसायिक कृषिमा समेत सरकारले जोड दिँदै आएको बताउनुभयो । 

उहाँले आउँदो वर्षको नीति र कार्यक्रमबारे संसद्मा र जनस्तरसम्मै बृहत् रूपमा छलफल गरेर सरकारले केही नयाँ कार्यक्रम ल्याउने गरिरहेको बताउँदै आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका केही ठुला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने र त्यसले कृषिमा आधारित सयौँ उद्योग स्थापना गर्न मद्दत पुग्ने बताउनुभयो । सरकारको जोड जलविद्युत् क्षेत्रमा रहेको बताउँदै उहाँले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने र चीन तथा बङ्गलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको उल्लेख गर्नुभयो । उहाँले देशभित्र विद्युत् खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठुला परियोजना अघि बढाउन सके नेपाल बन्न धेरै समय कुर्नु नपर्ने दाबी गर्नुभयो । 

प्रधानमन्त्रीले देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा पाँचखालमा निर्माण हुने हरित महिला औद्योगिक ग्राम स्थापनाले त्यसमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पछिल्ला वर्षहरूमा गाउँ गाउँबाट युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जाने क्रम बढ्दो छ, यसको असरका रूपमा गाउँका खेतीयोग्य जमिन बाँझो हुँदै जाने समस्या थपिएको छ,” प्रधानमन्त्री प्रचण्डले थप्नुभयो । उहाँले अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम अहिलेसम्म पनि सम्पन्न हुन नसकेको विषयमा निर्माण व्यवसायीसँग स्पष्टीकरण सोधिने र सरकारका तर्फबाट कुनै कुरा सच्याउनुपर्ने भए सच्याउने र व्यवसायीका कमजोरी देखिएमा कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले पाँचखालमा निर्माण हुने हरित महिला औद्योगिक ग्रामले नेपालमा नै फरक किसिमका उद्योग सञ्चालन गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले महिलालाई राजनीतिका साथै आर्थिक रूपमा पनि सशक्तीकरण गर्नुपर्ने भएकाले औद्योगिक ग्रामले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारसँग बजेटको सीमितता रहे पनि औद्योगिक ग्रामलाई बहुवर्षीय योजनाका रूपमा समावेश गर्दै सम्पन्न गराउने कुरामा सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता उहाँले जनाउनुभयो । 

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले महिलालाई आर्थिक रूपमा सशक्तीकरण गराई उद्योगपति बनाउने योजना अनुरूप हरित महिला औद्योगिक ग्राम निर्माणको काम सुरु गरिएको बताउनुभयो । उहाँले ग्राममा उत्पादन भएको १२ किसिमका सामग्री भारत निर्यात गरिने बताउनुभयो । दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालको सभापतित्वमा सो समारोह भएको थियो । 

यस्तो छ पार्कको संरचना 

वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवर्धन गर्ने उद्देश्यले नेपालकै पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क निर्माण सुरु गरिएको मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले जानकारी दिनुभयो । उहाँले दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको संयुक्त लगानीमा सरकारी निजी साझेदारी कार्यक्रम अन्तर्गत पार्क निर्माण सुरु गरिएको बताउनुभयो । महिला उद्यमी हरित औद्योगिक पार्क नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो परियोजना हो । 

पार्कभित्र महिलाद्वारा सञ्चालित ५० वटा लघु, साना र मझौला उद्योग स्थापना हुने छन् । नेपाली महिला उद्यमीलाई सहयोग र सशक्तीकरण गर्दै नयाँ प्रविधिसाथ हरित अर्थ व्यवस्थालाई बढावा दिने परियोजनाको मुख्य उद्देश्य रहेको छ । यो परियोजना लागु भएपछि महिला उद्यमशीलताको विकास हुनुका साथै र महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने मञ्चले जनाएको छ । 

महिला उद्यमी हरित औद्योगिक पार्क निर्माण तथा सञ्चालनका लागि पाँचखाल नगरपालिकाले २५ वर्षका लागि एक सय रोपनी जग्गा भाडामा उपलब्ध गराएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पूर्वाधार निर्माणका लागि दुई करोड, नगरपालिकाले पार्कको गुरुयोजना निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कन, पार्क निर्माण हुने स्थानमा घेराबार तथा सडक पु¥याउने काम गरेको छ । पार्क निर्माणका लागि कुल ९६ करोड रुपियाँ खर्च हुने र यस वर्ष ४० करोड रुपियाँको काम हुने मञ्चले जनाएको छ । 

पार्कभित्र निर्माण हुने संरचनाहरू स्थानीय रूपमा पाइने सामग्रीहरूको प्रयोग गरी भूकम्प प्रतिरोधी बनाउने, उद्योगका लागि पार्कभित्र सेवा केन्द्र, प्रशिक्षण केन्द्र, गोदाम, शीत भण्डार, मार्केटिङ प्लेटफर्म, कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित मेसिनरी साझा रहने मञ्चले जनाएको छ । पार्कभित्र वर्षाको पानी सङ्कलन गर्ने, फोहोर व्यवस्थापन, पानीको पुनः प्रयोग गर्न मिल्ने प्रविधिसमेत जडान हुने छ भने पार्कभित्र सडक बत्तीसमेत नवीकरणीय (सौर्य) ऊर्जा प्रयोग हुने छ ।