• ३ असार २०८१, सोमबार

मादी नदी थुनेर ताल बनाइँदै

blog

दमौलीस्थित मादी नदी । तस्विर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर २६ गते । तनहुँको व्यास नगरपालिकाले मादी नदीलाई थुनेर ताल बनाउने काम अघि बढाएको छ । निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ । 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । मादी नदी उपत्यका परियोजना अन्तर्गत ताल निर्माणका लागि नगरपालिको प्राथमिकतामा राखेको छ । 

नेपाल सरकारले वैशाखमा गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा यसलाई समावेश गर्न अनुरोध गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो।  नगरपालिकाको मङ्सिर २१ गते बसेको कार्यपालिका बैठकले यस परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको नगरप्रमुख न्यौपानलेले जानकारी दिनुभयो। नगरप्रमुख न्यौपानेले भन्नुभयोे, “परियोजनाको गुरुयोजना तयार भइसकेकाले सरकारले यसलाई लगानी सम्मेलनमा समावेश गर्नेमा विश्वस्त छौं ।’’ स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै त्यसमा केही 

कृत्रिम स्वरुप बनाएपछि पर्यटन र व्यापार व्यवसायले राम्रो लाभ लिनसक्ने भएकाले सो परियोजना अगाडि बढाउन खोजिएको नगरपालिकाले जनाएको छ । 

मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडी बढाउन नगरपालिकाले सङ्घीय सरकारको साथ खोजेको छ । गुरुयोजना अनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेटने तयारी गरिएको छ । जसको लागत रु. २६ अर्ब रहने बताइएको छ ।  

परियोजनामा व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहरमैला व्यवस्थापन योजना लगायत २६ वटा योजना समेटिने गुरुयोजनामा उल्लेख छ । पहिलो चरणमा ताललाई मात्रै प्राथमिकतामा राखेर काम हुनेछ । 

नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवर्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई अगाडि बढाएको थियो। नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ । 

नगरप्रमुख न्यौपानेले भन्नुभयो, “मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएकाले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।”