• ६ जेठ २०८१, आइतबार

शिवालयमा शतबीज छर्ने भक्तजनको घुइँचो (फोटो फिचर)

blog

गलेश्वर शिवालय मन्दिरमा आएका भक्तजनहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २५ गते । म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित शिवालय मन्दिरमा सोमबार बिहानैदेखि शतबीज छर्न भक्तजनको भीड लागेको छ । 

दिवङ्गग भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्ज्वलन गरी आज सोमबार शतबीज छर्ने धार्मिक प्रचलन छ ।  बालाचतुर्दशी पर्वको अवसरमा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा यो वर्ष भक्तजनको घुँइचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

विगतका वर्षको तुलनामा यसवर्ष बिहानैदेखि शिवालय मन्दिरमा भक्तजनको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । भक्तजनलाई शतबीज छर्न, पूजाआजा र दर्शन गर्न सहज होस् भनेर स्वयंसेवक र सुरक्षाकर्मीहरु बिहानैदेखि परिचालन गरिएको उहाँले बताउनुभयो । 

भक्तजनहरु लामबद्ध भएर मन्दिरमा प्रवेश गरेका छन् । यस पटकको बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दी जिल्लासहित रुपन्देही, चितवन, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, मकवानपुर, काठमाडौं, कास्की, स्याङ्जा, पर्वत, बागलुङलगायत जिल्लाका भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित १०८ शिवलिङ्गका साथै प्रवेशद्वारबाटै शतबीज छर्दै मन्दिरभित्र विभिन्न ठाउँमा पूजाआजा गरिन्छ । मूल मन्दिरदेखि गलेश्वर बजारसम्म लाइनमा बसेका भक्तजनलाई व्यवस्थित गर्न प्रहरी, सशस्त्र र स्वयंसेवकले सहयोग गरेका छन् । 

कृष्णागण्डकीबाट उठेर ९ रोपनीको एउटै चट्टानमा फैलिएको प्रसिद्ध गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले दर्शन गर्ने गरेका छन् । 

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्रहरु, नागमणि आदि चक्राकाररूपी चिन्ह मानवनिर्मित नभ स्वयं उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।