• ६ जेठ २०८१, आइतबार

गुरुङ संस्कृतिमा विवाह गर्न बेलायतदेखि तनहुँमा (फोटो फिचर)

blog

गुरुङ संस्कृति अनुसार विवाह गरेका मार्क र रुथ । फोटो सौजन्य: मनोज श्रेष्ठ

अमरराज नहर्की

तनहुँ, मङ्सिर २३ गते । बेलायत निवासी एक जोडीले गुरुङ संस्कार अनुसार विवाह गरेका छन् । लामो समयदेखिको प्रेमलाई मार्क टोवन्सेन्ड र रुथ टोवन्सेन्डले तनहुँको भानु नगरपालिका–१२ स्थित मिर्लुङ, ओख्लेबाट विवाह गर्नुभएको हो ।

बेहुला मार्कले कछाड, स्टकोट, घलेक, भाङ्ग्रो अनि टाउकोमा फेटा बाँधेर पञ्चेबाजा बजाएर जन्ती लिएर दुलहीको घरमा पुग्नुभएको थियो । पुरोहितले भने अनुसार उहाँहरू विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिनुभएको थियो  । लामा गुरुले दुलहा दुलहीलाई गुरुङ संस्कृति अनुसार स्वयंवर गर्ने, चुरा पोते लगाउने, सिन्दूर हाल्ने लगायतका कार्य गरी विधिपूर्वक लगनगाँठोमा बाँधिदिनुभएको थियो । 


वैवाहिक कार्यक्रम सकिएपछि रुथलाई माइतीघरबाट अन्माएर कर्म घर पठाइएको थियो । मार्कले रुथलाई ताम्दानीमा बोकाएर आफू बसेको घरमा विधिपूर्वक भित्राउनुभएको थियो । बेहुलीले परम्परागत गुरुङ पोसाक चोली, घलेक, फरिया लगाएर घुम्टो ओढ्नुभएको थियो । विवाहमा तीन हजारभन्दा बढी गाउँले भेला भएका थिए ।

भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो । गाउँलेलाई साँची राखी उहाँहरूले बुधवार विवाह गर्नुभएको थियो । स्थानीय गाउँले बेहुला र बेहुलीको पक्षमा बाँडिएका थिए । मार्कले सिउँदोमा सिन्दूर भरिदिए लामा गुरुले अब दुवै जना एक अर्काको सुखदु:खमा सहयात्री बनेर जीवन बाँच्ने कसम खुवाउनुभयो । मार्क र रुथले पनि अग्निलाई साक्षी राखी दुवैले सँगै बाँच्ने कसम खानुभयो ।


विवाहको चाँजोपाँजो ओख्ले गाउँ परिवारले मिलाएको हो । नेपालमा विभिन्न कार्यक्रम सञ्चालनका लागि आउने क्रममा नेपाली संस्कार संस्कृतिमा भिजेका मार्क र रुथले नेपाली संस्कृति अनुसार विवाह गर्ने सोच बनाएका थिए । नेपाली संस्कृति अनुसार नै विवाह गर्न चाहेको विवाहको संयोजन गरेका भानु नगरपालिका–१२ का पूर्व वडा अध्यक्ष विमल गुरुङ जानकारी दिनुभयो ।

गुरुङका अनुसार लामो समय नेपाल र नेपालीका संस्कार संस्कृतिसँग घुलमिल भएकाले आफ्नो प्रेमिकासँग नेपाली गुरुङ समुदायको संस्कार अनुसार वैवाहिक जीवनमा बाँधिन चाहेकाले यो कार्यक्रम गरिएको हो । रत्यौलीको गीत र पञ्चेबाजाको धुनमा बेहुला बेहुली नचाइएको थियो ।

सन् २००० देखि नेपालका विभिन्न ग्रामीण बस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएका मार्क काम गर्दै आउनुभएको छ । जन्ती बनेर जानुभएका भानु नगरपालिका–२ नारेश्वरटार निवासी सञ्चारकर्मी मनोज श्रेष्ठ विदेशीले नेपाली संस्कृतिलाई मन पराएर विवाह गर्दा स्थानीय बासिन्दामा आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गराएको बताउनुभयो ।

बिहे गर्नुअघि  जिल्ला अदालत काठमाडौँमा कोट म्यारिज  

उहाँहरूले नेपाली परम्परागत शैलीमा विवाह गर्नु अघि काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गर्नुभएको थियो  ।

एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मन्जुर गरेको निवेदनको आधारमा गत आइतबार (३ डिसेम्बर) काठमाडौँ जिल्ला अदालतमा कानुनी प्रक्रिया पूरा गरी विवाह बन्धनमा बाँधिनुभएको थियो । नेपाल र नेपाली संस्कार संस्कृति मन परेकोले नेपालमै विवाह गरेको मार्कले बताउनुभयो जिल्ला अदालतले विवाह दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

उहाँहरू अविवाहित हुन् होइनन् भन्ने यकिन भएपछि मात्र अदालतले दर्ताको प्रमाणपत्र दिएको थियो ।