अमरराज नहर्की
तनहुँ, मङ्सिर २० गते । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत थप पाँच किलोमिटर कालोपत्रेको काम मङ्गलबारबाट सुरु भएको छ । योजनाको पूर्वी खण्डको काम सुरु भएको हो ।
पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवले आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्कीचोकसम्मको साढे चार किलोमिटर दूरीमा कालोपत्रे कार्य मङ्गलबारबाट सुरु गरिएको जानकारी दिनुभयो । गाउँपालिका चोकबाट सुरु गरी गत असार महिनामा कालोपत्रे गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्रे कार्य अघि बढाएको उहाँले जानकारी दिनुभयो । यसअघि आँबुखैरेनी गाउँपालिका–१, सत्रसयबाट सुरु गरी मार्की चोकसम्म गरी तीन किलोमिटर दुरीमा कालोपत्रे कार्य सम्पन्न गरिसकेको छ ।
जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दुरी एकतर्फी कालोपत्रे कार्य हालै सम्पन्न भएको यादवले जानकारी दिनुभयो । बन्दीपुर–१, नाहालादेखि व्यास–१२, छिर्कनसम्मको उक्त दुरीमा अस्फाल्ट प्रविधिको कालोपत्रे कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यादवका अनुसार हालसम्म एकतर्फी नौ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको छ । यातायात आवागमनलाई सहजताका लागि दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो । चिनियाँ र नेपाली दुवै कामदारबाट काम भइरहेको यादवले बताउनुभयो ।
यस खण्डमा सडक विस्तारकधा क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको छ । यादवले भन्नुभयो, “हालसम्म ४२ प्रतिशत काम पूरा भएको छ, यात्रुलाई यात्रा गर्न सहज होस भनेर कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको छ ।”
पूर्वी खण्डको काम २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ किलोमिटर सडकको यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०८१ साल वैशाखसम्म म्याद तोकिएको छ । तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुने छ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । पश्चिम खण्डको काम भने सुस्त छ । यस खण्डको हालसम्म ११ प्रतिशत काम पूरा भएको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।