वालिङ समाचारदाता
वालिङ, मङ्सिर २० गते । वालिङका नागरिकले सांसद तथा नेतालाई आफूले गर्न सक्ने जति मात्रै बोल्न सुझाव दिएका छन् । सबै समस्याको म समाधान गरिदिन्छु भन्ने नेताहरू गाउँ फर्केर नआउने गरेको भन्दै धेरै आश्वासन नदिन आग्रह गरेका हुन् ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा स्याङ्जाको वालिङ–१४ मा भएको सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न राखेका थिए । स्थानीय राजेन्द्र थापाले भन्नुभयो, “म नेताहरूलाई सक्ने जति मात्रै प्रतिबद्धता जनाउन भन्छु, ताकि हामी आशावादी भएर बस्न नपरोस् ।” नेताले जे पनि हुन्छ भन्ने र नागरिक त्यसैमा रमाउने अवस्था आएको उहाँको तर्क छ ।
गाउँमा बस्ने अवस्था नै रहन छाडेको अर्का स्थानीय बुद्धि अर्यालको भनाइ छ । अर्यालले भन्नुभयो, “युवा हामीलाई छोडेर विदेश गइसकेका छन् । अब हामी उमेर ढल्केकाहरू कता जाने ? सकी नसकी उब्जाएको पनि बिचौलियाले खाइदिन्छन् ।” उषाकुमारी सार्कीले भन्नुभयो, “पानी घरमा आउला र सुखका दिन बिताउँला भनेको उमेर नै जान लागिसक्यो ।”
कार्यक्रममा बोल्ने प्रायः नागरिकले गुनासो पोखेका थिए । खेती गरे जङ्गली जनावरले खाइदिने, नगरे आफैँ भोकै बस्नुपर्ने गुनासो पनि उनीहरूको छ । स्थानीयले सडक, खानेपानी, विद्यालय, स्वास्थ्य संस्थालगायतका विषयमा कुरा उठाएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश संसदीय सभाका अर्थ विकास समिति सभापति भोजराज अर्यालले समग्र वालिङको विकास निर्माण र यहाँका नागरिकको जीवनस्तर माथि उकास्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । अर्यालले जिल्लाका पर्यटकीय सम्भावना, कृषि तथा पशुपालनका सम्भावनाहरूमा प्रदेश सरकारको तर्फबाट हुने भन्दै आश्वस्त पार्नुभयो । सबै खालको सहयोग रहने भन्दै यहाँका सडक निर्माण, स्तरोन्नति, कालोपत्रेलगायतका भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विकासमा सङ्घ, प्रदेश र स्थानीय तहबिच एकमत भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
प्रदेशका लेखा समिति सदस्य तथा प्रदेश सांसद कल्पना तिवारीले नागरिकको चाहना अनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने भन्दै सङ्घ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित योजनामा नागरिकको सहभागिता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
वडा नं. १४ का अध्यक्ष बोधराज कुँवरले वडामा प्रदेशबाट आएका योजनाहरूमा समन्वय गर्न समस्या भएको बताउनुभएको थियो । योजना उतैबाट आउँछ हामीलाई इन्जिनियर र ठेकदारले कम महत्व दिन्छन्, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशबाट आउने बजेटमा हाम्रो भूमिका प्रभावकारी बनाउने अवस्था बनाइदिनुप¥यो ।”
संसदीय पत्रकार मञ्चले गण्डकी प्रदेश सरकारको काम, सङ्घीयताको औचित्य र स्थानीय जनप्रतिनिधि तथा प्रदेश सांसदको भूमिका विषयमा स्थानीयस्तरमा नै पुगेर कार्यक्रम गरेको हो । नागरिकका समस्याका बारेमा सांसदलाई सचेत र जिम्मेवार बनाउन कार्यक्रमको आयोजना गरिएको संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष भरत कोइरालाले बताउनुभयो ।