• १२ साउन २०८१, शनिबार

बाँझो जमिनमा बृहत् कृषि कार्यक्रम

blog

उत्पादन गरिएको रायोको साग । तस्बिर बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, मङ्सिर २० गते । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ । 

गत वर्ष परीक्षणको रूपमा गरिएको बृहत् कृषि कार्यक्रम सफल भएपछि यो वर्षबाट बाँझो रहेका जग्गा सदुपयोग गर्दै यसलाई व्यावसायिक रूपमा गरिन लागिएको उत्पादनतर्फ हेर्ने अगुवा कृषक नारायण बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार दिनपरदिन बाँझो बन्दै गएका उर्वर भूमिलाई सदुपयोग गरी बोचलाई हराभरा तथा आम्दानीयोग्य बनाउने उद्देश्य कार्यक्रमको रहेको छ । साढे तीन करोड रुपियाँको लगानीमा एक हजार २० रोपनीमा गरिएको कृषि फस्टाएपछि यो वर्ष कार्यक्रम उदघाटन गरी विकास विस्तार गर्न लागिएको पनि हो । 

कार्यक्रमलाई १५ जनाले जग्गा उपलब्ध गराएका छन् ।  उहाँले भन्नुभयो, १० वटा हाई टेक नर्सरीमा विभिन्न जातका १३ लाख बिरुवा तयार भएका छन् । कुखुरा तथा गाई पालन गरिएको छ । कृषिका विभिन्न औजार पनि व्यवस्था गरिएको छ । किवी, लसुन,प्याज, रायोको साग समेत उत्पादन भइसेको छ । कार्यक्रममा १० जना कृषक खटेका छन् । 

दुई हजार रोपनीमा विकास विस्तारका क्रममा ५० वटा हाई टेक नर्सरी स्थापना हुनेछन् । सात हजार कुखुरा तथा सय वटा गाई पालन गरिनेछ । उहाँले भन्नुभयो, कृषि प्राविधिकबाट निरन्तर अनुगमन एवं अनुसन्धान गरिनेछ । यसका लागि थप रकम उपलब्ध हुने आश्वासन पाएका छौँ । 

गाउँको तल्लो भागमा बाँदर आतङक पनि रहेको छ । सुरुमा बाँदरले नखाने जातका खेती गरिनेछ । जग्गा बाँझो बन्दा रुखले बाँदरलाई बस्न सजिलो भएकाले रुखहरू काटी सफा बनाइने उद्देश्य राखिएको छ । ससाना गह्रालाई ठूला पाटा बनाई आकर्षक पनि बनाइने उहाँले स्पष्ट पार्नु भयो । 

यस कार्यक्रमले आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने नारालाई सफल बनाउन सहयोग गर्नेछ । प्रशस्त उत्पादन भई बजारको समेत उचित व्यवस्था भएपछि कृषकह यसप्रति आकर्षित हुँदै युवा विदेश पलायन हुने अवस्थालाई समेत नियन्त्रण गर्ने कार्यक्रमले अपेक्षा राखेको छ ।