• ११ मंसिर २०८१, मङ्गलबार

काठमाडौँमा ‘महाजात्रा’

blog

काठमाडौँ, मङ्सिर २० गते । नेपालमा सिक्वेल चलचित्रले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक प्रदीप भट्टराईको लेखन रहेको ‘जात्रै जात्रा’ ले सिक्वेल चलचित्र पनि राम्रो बन्छ भन्ने प्रमाणित गरेको छ । उहाँ अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कनमा व्यस्त हुनुहुन्छ । काठमाडौँमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायाङ्कन भइरहेको छ । चलचित्रमा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेललगायतले अभिनय गरिरहेका छन् । 

केही समयअगाडि घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते हुनु भएका अभिनेता प्रकाश घिमिरेले यसै साता छायाङ्कनमा आउने निर्देशक भट्टराईले बताउनुभयो ।  शृङ्खलाकै निरन्तरता भएकाले दर्शकको अपेक्षा बढ्नेमा उहाँ जानकार हुनुहुन्छ । उहाँले २९ औँ दिनमा छायाङ्कन भइरहँदा तय गरिएको समयअनुसार नै काम भइरहेको बताउनुभयो । 

कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो चलचित्र बन्ने बताउनुभयो । ‘मुन्ना’ मार्फत उहाँले यस पटक आममानिसको समस्यालाई उजागर गर्ने जनाउनुभयो । 

“महाजात्रासम्म आइपुग्दा झनै परिपक्क भएका छौँ । छायाङ्कनका क्रममा भेटिने दर्शकले चलचित्रबारे जिज्ञासा राख्नुका साथै पछिल्ला दुई शृङ्खलाको विषयमा कुरा गर्नुहुन्छ । यस कारण पनि दर्शकको माया पाउनेमा विश्वस्त छौँ,” अभिनेता झाले भन्नुभयो । 

जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने चलचित्रमा हाँसो र रोदनको मिश्रण छ । कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्रान्डका कारण भारतबाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । 

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।