काठमाडौँ, मङ्सिर २० गते । ‘माटो र पानी, जीवनको थालनी’ मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम मङ्गलबार १० औँ विश्व माटो दिवस मनाएको छ ।
माटो दिवसको उपलक्ष्यमा माटो विज्ञान अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा दुई जना किसानलाई सम्मान गरेको छ ।
कृषिका लागि गुणस्तरीय माटोको प्रयोग गरेको भन्दै दाङका प्रेम चौधरी र रुकुमका कृष्णबहादुर खड्कालाई सम्मान गरिएको हो । विभिन्न जिल्लाबाट तीन हजार ४७५ वटा माटोका नमुना सङ्कलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो । दुवै जनालाई १०/१० हजार नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनुभएका किसान खड्काले आफूले प्राङ्गारिक मलको प्रयोग गरेका कारण माटो राम्रो भएको बताउनुभयो । त्यस्तै अर्का सम्मानित किसान चौधरीले माटोमा केही मात्रामा रासायनिक मल प्रयोग गरे पनि नदीमा आएको बाढीको पानी खेतमा लाग्ने भएकाले माटो मलिलो भएका कारण बाली राम्रो भएको बताउनुभयो ।
किसानलाई सम्मान गरेपछि कृषिमन्त्री डा. वेदुराम भुसालले माटोको गुणस्तरमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले के गरी हुन्छ माटोलाई शतप्रतिशत शुद्ध नै बनाउनु पर्छ, त्यसका लागि सबै जना आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसो रिपोर्ट हेर्दा नेपाली माटोको गुणस्तर खासै बिग्रिएको छैन तैपनि यसको गुणस्तरमा ध्यान दिनु पर्छ ।”
कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्रीप्रसाद विष्टले ९५ प्रतिशत खाद्यान्न माटोबाट आउँछ, त्यसमा ३३ प्रतिशत माटो बिग्रेको हुन्छ । उहाँले ३४ प्रतिशत माटो पानीका कारण खराब भएको पनि बताउनुभयो । तराईको माटोमा २.३२ प्रतिशत, पहाडको माटोमा ३.२० प्रतिशत र हिमालको माटोमा ४.७८ प्रतिशत प्राङ्गारिक पदार्थ रहेको उहाँले जानकारी दिनुभयो । तराईको माटोमा ०.११५ प्रतिशत नाइट्रोजन, ६८.९९ केजी प्रतिहेक्टर फस्फोरस र २३४.६१ केजी प्रतिहेक्टर पोटासियम रहेको उहाँले जानकारी दिनुभयो ।