काठमाडौँ, मङ्सिर २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँले आगामी माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको बताउनुभयो। बैठकले पुस ९ गते स्थायी कमिटी बैठक, पुस १० गते पोलिटब्युरो बैठक तथा पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । उहाँले राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनमा विधान व्यवस्थाबारे छलफल गर्न उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको कार्यदल गठन गरेको छ ।
पार्टी प्रवक्ता खतिवडाले राष्ट्रिय सम्मेलन व्यवस्थापनका लागि गङ्गालाल तुलाधर, जीवनराम श्रेष्ठ, साबित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताउनु्भयो ।