• १३ असोज २०८१, आइतबार

जोशीको रिहाइका लागि पहल गर्न आग्रह

blog

काठमाडौँ, मङ्सिर २० गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा अज्ञात अवस्थामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले परराष्ट्र मन्त्रालयमा मङ्गलबार नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग जोशीको अवस्था पत्ता लगाउनका लागि कूटनीतिक पहलका लागि अनुरोध गर्नुभएको हो । 

इजरायलमा आक्रमण गरेको हमास समूहको नियन्त्रणमा रहेको अनुमान गरिएका नेपाली नागरिक जोशीको रिहाइका लागि सबै उपाय लगाएर पहल गरिदिन मन्त्री साउदले अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार भेटवार्ताका क्रममा कतारका राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबिच फेरि युद्ध सुरु भएको र त्यसलाई रोक्न कतार सरकारले पहल गरिरहेको बताउनुभयो । साथै उहाँले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि प्रयास जारी रहेको बताउनुभयो । 

परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भन्नुभयो, “परिस्थिति जटिल छ । यद्यपि अर्को युद्धविरामका लागि पहल भइरहेको छ । हामीले बन्दी छुटाउनका लागि पनि प्रयास गरिरहका छौँ ।”

परराष्ट्रमन्त्री साउदले यसअघि मङ्सिर ८ गते कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । यस्तै उहाँले मङ्सिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गर्नुभएको थियो ।  परराष्ट्रमन्त्री साउद पाँच दिनपछि कतारमा सुरु हुने दोहाको २१ औँ फोरममा सहभागिता जनाउन त्यसतर्फ जाँदै हुनुहुन्छ । सो भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने मन्त्री साउदले प्रष्ट पार्नुभएको छ । मङ्गलबारको भेटवार्तामा उहाँको कतार भ्रमणका विषयमा पनि थप छलफल भएको थियो । भ्रमणका लागि आवश्यक तयारी र कार्यसूचीका बारेमा पनि सो क्रममा छलफल भएको मन्त्रालयले जनाएको छ ।